६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

शुभश्री अग्नि सिमेण्टले गर्दा लुप्लुङ धरापमा, खानी बन्द गर्न स्थानीयको माग



सलिम अन्सारी, प्युठान ।
प्युठानमा प्राकृतिक श्रोतको मनपरी दोहनले परिणाम भयावह हुने चिन्ता गर्न थालिएको छ । खानीका कारण भण्डारी बन्धुहरुको उद्धगमस्थल ऐतिहासिक महत्व बोकेको लुप्लुङ धरापमा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् । जन्मेहुर्केको थातथलो चुनढुंगाले उठिबास लगाउने पिरलो उनीहरुमा छ । पर्याबरण एवं मानववस्तीमा गम्भीर प्रतिकुल प्रभाव पारेको भन्दै सिमेन्ट उद्योगको चुनढुङ्गा खानी प्रभावित गाउँका स्थानीयहरुले खानीको अनुमती खारेज गर्न माग गरेका छन् । दाङमा स्थापना भएको शुभश्री अग्नि सिमेण्ट प्रा.लि.ले लुप्लुङको बडाचौरबाट उत्खनन गरेको चुनढुङ्गा खानीले जिल्लाको पर्यावरण ध्वस्त हुँदै जाँदा मानव जीवन नै संकटमा पर्न थालेको भन्दै त्यहाँका जनताले चुनढुङ्गा उत्खनको अनुमती खारेज गर्न माग गरेका हुन् । सरकारले उत्खनन् अनुमती खारेज नगरे आफूहरुले नै खानी बन्द गराउने चेतावनी दिएका हुन् ।
सिमेन्ट उद्योगले गरिरहेको चुनढुङ्गा उत्खनन्को बिरुद्धमा संघर्ष सुरु गरेका जिल्लावासीले उद्योगको अनुमती खारेज गर्न माग गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितीलाई ज्ञापनपत्र बुझाएका छन् । चुनढुङ्गा उत्खनन्का कारण जिल्लाको वाताबरण बिग्रेको, पानीका मुहान सुकेको, पहाड खल्बलिएर ठूलो प्राकृतिक बिपत्तिको अवस्था आउन लागेको भन्दै स्थानियहरुले चुनढुङ्गा उत्खनन् रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्र बुझाएका हुन् । लुप्लुङ बचाउन गठित संघर्ष समितीका अगुवा मदन भण्डारीले स्थानीय श्रोत साधन माथी स्थानीयकै अधिकार रहने जिकिर गर्दै मानव जीवन, पर्याबरणिय एवं बातावरणीय सुरक्षाका लागि चुनढुंगा खानी दिर्घकालिन रुपमै बन्द गर्नुपर्ने बताए । मातृभुमीका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौ भण्डारीले भने, “चुनढुगा उत्खन्न गर्न दिदैनौं ।”

सरकारी स्तरबाट खानी बन्द गराउन निर्देशन नभए आफूहरु चुनढुङ्गा उत्खनन् स्थलमा प्रवेश गरी शान्तिपूर्ण तरिकाले ध्वंसात्मक कार्य रोक्न दवाव दिने संघर्ष समितिका अद्यक्ष भण्डारीले जानकारी दिए । खानी उत्खनन् अनुमतिपत्र खारेजका लागि निर्देशन दिन आग्रह गर्दै संसदको वातावरण संरक्षण समितिलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितीले बताएको हो । ज्ञापनपत्र बुझ्दै प्रजिअ गैह्रेले खानी संचालनको इजाजत दिने अधिकार खानी बिभागको भएकाले आफुहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताए । उनले स्थानीयको भावनालाई बुझेर अन्य श्रोत सम्पतीको क्षती नहुने गरि खानी संचालन गर्नुपर्ने बताए । संसदको वातावरण समितिले चुनढुङ्गा खानीको अनुमती रद्ध गर्नका लागि उद्योग मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन मन्त्रालय, खानी विभागलाई निर्देशन दिनुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । उद्योगले बिगतमा गरेको संझौता समेत कार्यान्वयन नगरेको उनिहरुको आरोप छ ।
चुनढुंगाको जथाभावी उत्खन्नले ४५ घरधुरी दलित सहित ५ सय बढी कुरिया जोखिममा परेको स्थानीय जिवराज भण्डारीले बताए । उब्जाउभूमि, बनक्षेत्र पुरै ध्वस्त गरेर खानी संचालन गरिएको छ उनले भने सरकारी ऐन नियमको ख्याल छैन। खानीले बृक्षारोपण गर्ने र स्थानियलाई रोजगारी समेत नदिइएको उनले आरोप लगाए । चुनढुंगा उत्खनन् गर्दा प्राविधिकको रेखदेखमा गर्नुपर्छ । उत्खन्नका बेला निस्कने कम गुणस्तरीय ढुगा माटोलाई जथाभावी फ्याक्न पाईदैन । खानी संचालकले उत्खनन् अनुमतीपत्र, आईई प्रतिबेदनमा उल्लेखित वातावरण संरक्षण र प्रतिकुल प्रभाव न्युनिकरणका उपाए अबलम्वन गर्नुपर्ने कानुनी प्राबधान छ । सिमेण्ट उद्योगद्धारा तयार प्रारम्भिक परिक्षण प्रतिबेदनमा निजि जग्गा बाहेक बनक्षेत्रको गरि झण्डै ५ हेक्टर जग्गामा चुनढुंगा उत्खनन् गर्ने उल्लेख भएको निमित्त जिल्ला बन अधिकृत ठाकुर प्रसाद वाग्लेले बताए ।
जिल्लाबाट स्थानीय श्रोत साधन बाहिर निकासी हुंदा अनुगमन गरिएको बताए । बन कार्यालयले अनुगमन गरेर नियम भन्दा बाहिर जान नदिएको वाग्लेले जवाफ दिए। उनले क्षती कम गर्ने उपाए अपनाउदै जानुपर्ने सुझाब दिए । उता शुभश्री अग्नि सिमेण्टका प्युठान प्रतिनिधि शिव अर्यालले वातावरण प्रभाव मुल्याङ्कन अनुसार नै काम गरेको दावी गरे । नियम कानुन भित्र रहेर चुनढुगा उत्खनन् गरेका छौ उनले भने । सिमेन्ट उद्योगले जिल्लाको लुप्लुङमा डेढ बर्ष अघिदेखि उत्खनन् गर्दै आएको छ । यहाँ उत्पादित चुनढुंगा दाङको शुभश्री अग्नी सिमेण्ट उद्योगमा आपुर्ती गरिदै आएको छ। चुनढुंगा खानी तथा भुगर्भ बिभाग र बनबिभागसंग स्वीकृति लिएर उत्खनन् गरेका हुन। दीर्घकालिन रुपमा नै चुनढुंगा खानी बन्द गरी प्रकृति र पर्यावरणको पूर्णतः संरक्षण गर्दै साँस्कृतिक तथा पर्यापर्यटनको प्रबद्र्धन गर्न जिल्लाबासीले माग गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७५ आइतबार ००:००  ३ : ०१ बजे