बिश्व सम्पदामा सुचीकृत हुँदै तिलौराकोट


मायादेवी अनलाइन, तौलिहवा ।
बिगत चार बर्ष देखि बैज्ञानिक तरिकाले प्राचिन कपिलवस्तुमा सम्पन्न गरिएको उत्खनन र अन्वेशषणले तिलौराकोट बिश्व सम्पदामा सुचीकृत हुने बलियो प्रमाणहरु फेला परेका छन् । पुरातत्वबिद अबको एक दुई बर्ष भित्रै तिलौराकोट बिश्व सम्पदा हुने लगभग पक्का भएको बताउँछन । उत्खनन र अनुसन्धानबाट तिलौराकोट नै प्राचिन कपिलवस्तु रहेको पुष्टी हुने अकाट्य आधारहरु फेला परेको उत्खननमा संलग्न पुरातत्वबिदहरु बताउँछन । उत्खननबाट तिलौराकोटमा बुद्धकालीन समय भन्दा अघि देखि नै मानव सभ्यता र संस्कृतिको सुरुवात भएको पाईएको पुरातत्व बिभागका पुरातत्व अधिकृत राम बहादुर कुँवरले बताए । यसैक्रममा बुद्धस्थल प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न प्रशस्त तथ्य र प्रमाणहरु संकलन भएका छन् । पाचौ शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेनसाङले आफ्नो यात्रा विवरणमा उल्लेख भए अनुसार कै प्राचिन भग्नावशेष फेला परेको कुँवरले बताए ।
यस वर्ष विज्ञ विदेशी पुरातत्वविद् सहित नेपाली टोलीले बुद्धस्थल तिलौराकोटमा विश्व सम्पदाकै लागि केन्द्रित भई अध्ययन अन्वेषण गरे । बेलायतको डु¥हाम युनिर्भसीटी, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्वविद् संलग्न टोलीले यस वर्ष अध्ययन अन्वेषण गरेको थियो । करिब २ महिना लगाएर गरिएको उत्खनन् सकिएको छ । यस पटक तिलौराकोटका ४ ठाउँमा उत्खनन गरियो । मध्य क्षेत्रमा पाईएको सय वाई सय मिटर लम्बाई चौडाईको मध्य भागको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन गरियो । त्यहाँ अहिले १५ मिटर लम्बाई सम्म सुरक्षा पर्खाल भेटाईयो । त्यो ५० मिटर सम्म जाने अनामान गरिएको छ । त्यहाँ ४ वर्ष अघि जियोफिजिक्स (भू–भौतिक सर्भे) गर्दा ठूलो संरचना पाएको थियो ।
पछिल्लो पटक भईरहेको उत्खनन्को मध्य भागको प्रशासनिक भवन संरचना मुख्य उपलब्धी रहेको पुरातत्व अधिकृत कुँवरले बताए । जसरी जियोफिजिक्सले त्यसको व्याख्या गरेको थियो । त्यसै अनुसार नतिजा निस्कनु राम्रो । मुख्य प्रशासनिक भवन ईशापुर्व तेस्रो शताब्दी तिरको हो । पश्चिमी सुरक्षा किल्ला पर्खाल नजिक उत्खनन् गर्दा तामाको कुषाणकालिन २ सय ५२ सिक्का यस वर्ष भटिएको थियो । यो सिक्का ईशाको दोस्रो शताब्दी तिर प्रयोग गरिन्थ्यो ।
त्यस्तै अर्को महत्वपुर्ण उपलब्धी सन् २०१५ मा मध्य भागमा ३० वाई ३० मिटर लम्बाई चौडाईको पोखरी फेला परेको थियो । त्यो पोखरीको यस वर्ष अध्यनन गर्दा दुई किनारको छेउ (कर्नर) भेटिए । पुर्व पश्चिमतिरको उत्खनन्मा दक्षिण पश्चिम पोखरीको कर्नर भेटियो । र, अर्को तिर दक्षिण पुर्व तिरको कर्नर भेटियो । यो पोखरी २३ सय पुरानो रहेको अध्यननले देखाएको छ । यसले के देखाउछ भने तिलौराकोट दरबारमा बस्ने राजामहाराजा पोखरी प्रयोग गर्थे । त्यही भएर यसलाइ रोयल ट्याङ्क भन्न सकिन्छ । यो अहिले पनि पोखरीकै रुपमा देखिन्छ । जमिनको २ मिटर तल २६ तह सम्म रहेको ईटाले मनमोहक पर्खाल देखिन्छ ।
त्यस्तै समयमाई मन्दिरदेखि उत्तर पश्चिम २ वर्षदेखि गरिएको उत्खनन् स्थलमा पश्चिम तिर बढाएर उत्खनन् गरियो । नयाँ संरचना पाईयो । त्यस्तै यस पटक नयाँ ठाँउ तिलौराकोट कम्पाउण्ड बाहिर रहेको कन्थक स्तुपमा पनि उत्खननु गरियो । कन्थक स्तुपमा उत्खनन् गर्न जापानी नागरिक डा. नोबुओ कसाईले १ करोड सहयोग गरेका थिए । यो ठाउँमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा खनेका थिए । त्यसपछि पहिलो पटक यस वर्ष उत्खनन् भयो । ईटा भन्दा पहिले प्रयोग गरिने माटोको स्तुपहरु फेला परेको छ । राम्रै संरचनाहरु भेटिएको छ । भेटिएको तथ्यको अनुसन्धान भईरहेकोछ । अर्को वर्ष विस्तृत खोज गरिने बताईएको छ ।


कन्थक स्तुप राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गर्न दरबार छाडेर जादा संगै लिएर गएको घोडा आधिबाटोबाट फकाईपछि दरबार आउदै सिद्धार्थको संझना तिलौराकोट नजिकै घोडा कन्थक मरेको थियो । त्यसैको संझनामा उक्त ठाउको नाम कन्थक राखिएको हो । यस वर्ष उत्खनन्मा माटोको मुर्ति, कुदिएको ईटा, मानव मुर्ति र जनावर मुर्ति फेला परेका छन् । कुमालेको माटोको भुग्रो, जातो आकारको टुक्रा र धातु पगाल्ने भाडाकुडा पनि पाईएकोछ ।
यस पटक पनि बैज्ञानिक तरिका अध्ययन अनुसन्धान गरिएको लुम्बिनी विकास कोष पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए । अनुसन्धानका क्रममा भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ्ग, सोसियो ईकोनोमी र भिजिटर सर्भे गरेको उनले बताए । ‘उत्खनन्को परिणाम राम्रो हुँदा निक्कै खुसी छौं’ उत्खनन् परियोजना सह–निर्देशक तथा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले भने, ‘यस क्षेत्रको योजना र विकासका लागि कोसेढुङ्गा बन्न सहयोग गर्छ ।’ अर्को तर्फ तिलौराकोटको ऐतिहासिकता पुष्टी भयो उनले भने । अब विश्व संपदा सुचिमा सुचिकृत हुन समस्या छ्रैन् । उत्खनन्बाट प्राचीन सहरको स्वरुप र साँस्कृतिक विकास क्रम थाह लाग्दैछ उनले भने त्यत्ती खेर घर बनाउने के के प्रयोग गरिन्थ्यो ?, कस्तो घर बनाईन्थो र आर्थिक सामाजिक पाटो पनि पत्ता लागेको छ । तिलौराकोटको विकास क्रम कसरी अघि बढ्यो ? उनले भने । कुन कुन समयमा कस्ता समुदायको बसोवास रहयो भन्ने थाहा लाग्दै गएकोछ । यस्ले तिलौराकोटको कालक्रम पत्ता लगाएर ऐतिहासिक रुपमा प्रमाणित गरे कताकति रहेको भ्रम चिरेर विश्वको ध्यान तान्न थप सहयोग पुग्ने उनले दाबी गरे ।
भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा तिलौराकोटमा गरेको उत्खननले भ्रम सिर्जना गरेको आचार्यले बताए । तिलौराकोटको प्राचीनता इसापूर्व दोस्रो शताब्दीसम्म भएको देवला मित्राको भनाइलाई अहिले भइरहेको वैज्ञानिक उत्खनन, अन्वेषण, अनुसन्धान र परीक्षणले इसापूर्व आठौं शताब्दीका भवनका किल्ला र पर्खालको पोस्टहोल काठ र बाँसका खाँबोको डोब भेटिए पछि गलत साबित गरेको आचार्यले बताए ।
मित्राले तिलौराकोटमा सहरको बनोट नभएको, किल्लाबन्दी पूरा नभएको, भएका किल्लाबन्दी इसापूर्व दोस्रो शताब्दीपछिका रहेको दाबी गरेकी थिइन् । देवाला मित्र अघि भारतीय पुरातत्वबिद पिसि मुकर्जीले पनि यहा उत्खनन गरी तिलौरकोट नै प्राचिन कपिलस्तु दरबार रहेको आफनो बलियो भनाई सहीत प्रतिबेदन पेश गरेका थिए । ‘धेरै महत्वपुर्ण प्रमाण फेला परेका छन्’ लुम्बिनी विकास कोषका कार्यबाहक सदस्य सचिव सरोज भट्टराईले भने, ‘अब छिट्टै तिलौराकोट विश्व सम्पदा सुचिमा सुचिकृत हुन्छ, त्यसपछि यस्को महत्व विश्वव्यापी रुपमा बढ्छ ’ ।
कोषले अहिलेदेखि तिलौराकोटमा विकासका काम थालेको भन्दै उनले छिट्टै तिलौराकोटलाई सफा गरि चिरिच्याट्ट बनाएर पर्यटकीय आकर्षण थप्ने काम भईरहेकोछ बताए । ‘ एक वर्ष भित्रै तिलौराकोटमा सुन्दरीकरण गछौ’ उनले भने । तीन वर्ष यता उत्खनन् हुँदा सय वाई मिटरको केन्द्रिय प्रशासनिय संरचना, ऐतिहासिक पोखरी, हतियार बनाउने उद्योग, व्यवस्थित सहरका पुराना संरचना भेटिएका छन् । करिब ५ सय पंचमार्क सिक्का पाईएका थिए ।
त्यस्तै ईशापुर्व आठौ शताब्दीका भवनका किल्ला पर्खालहरुको पोष्टहोल (काठ र बाँसका खाबोको डोब) पनि पाईएको थियो । सन् २०१३ देखि यहा उत्खनन् अन्वेषण भईरहेकोछ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछिबाट जापान सरकारको जापनीय फण्ड ईन ट्रष्ट (जेफिड)को सहयोगमा युनेस्को मार्फत अध्यनन अन्वेषण भईरहेकोछ ।
सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि संझौता भई काम थालेको हो । तेस्रो चरणमा विश्व सम्पदाका लागि प्रमाण संकलन गरि डकुमेन्टेसन गरिने काम अघि बढाईएकोछ । बेलायत स्थित दुर्हम बिश्व बिद्यालयका प्रोफेसर डाक्टर रबिन कनिङ्घमले तिलौराकोटमा गरिएको उत्खननले धेरै उपलब्धीहरु हासिल भएको बताए । उनले तिलौराकोटको पुरै क्षेत्र ऐतिहासिक प्रमाणले भरिएकोले तिलौराकोट नै प्राचिन कपिलवस्तु रहेको प्रशस्त आधारहरु भेटिएको उनले बताए । ‘तिलौराकोट बुद्धकालिन सयम भन्दा पहिले कै ब्यवस्थित शहर रहेको उत्खनन र अनुसधानले देखाएको छ’ उनले भने । अब यसको विकास, संरक्षणमा ढिलाई गर्न नहुने उनले बताए । भित्र प्रबेश गर्नासाथै प्राचीन सहरको व्यवस्थित र ऐतिहासिक रुपरंग देख्न सकिने बनाउदैछ’ उनले भने ‘यहाँ संरक्षणका काम पनि थालिएको छ’ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस