५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

के हो हाइपोमोनिया ?



काठमाण्डौ ।
हाइपोमेनिया मुड, मन र व्यवहार अस्थिर हुने एक किसिमको मानसिक रोग हो । मेनिया र हाइपोमेनिया बाइपोलर डिसअर्डरका चरण हुन् । हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ र बढी बोलिरहनुपर्ने हुन्छ । यो समस्या भएका मानिस कुनै विषयमा पनि प्रभावित भइहाल्ने खालका हुन्छन् । आफ्ना कुरामा जिद्दी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा बढी रिसाउने र मन चञ्चल रहने हुन्छ । सामान्यतया, यो रोग लागेको ठम्याउन गाह्रो पर्छ । तसर्थ, वेलैमा यो रोग पहिचान गर्न सकिँदैन । जसले गर्दा, कतिपय मानिस वर्षौंसम्म पीडित भएर बाँच्न विवश हुन्छन् ।
लक्षण
चाहिनेभन्दा अत्यधिक खुसी वा दुःखी हुनु हाइपोमेनियाको प्रमुख लक्षण हो ।
घमन्डी बन्ने, बढी फुर्ती लगाएर कुरा गर्ने ।
मीठो खानेकुरा र राम्रो लगाउन माग गर्ने ।
असम्भव काम पनि गर्न सक्छु भन्ने ।
यौनमा बढी रुचि राख्ने ।राति १र२ घन्टा सुते पनि निद्रा पुग्ने ।
नचाहिने कुरामा पनि पैसा खर्च गरिदिने । बढी आत्मविश्वासी हुने ।
छटपटी हुने अर्थात् एउटा काम नसक्दै अर्को काम सुरु गर्ने ।
उल्लेखित समस्या सुरु–सुरुमा कम मात्रामा देखिन्छन्, जसले गर्दा पहिचान गर्न सकिँदैन, जुन मेनियाका लक्षण हुन् । कतिपय अवस्थामा मेनिया आफैँ पनि निको हुन्छ । तर, एकपटक मेनिया भएको बिरामीमा पुनः रोग दोहोरिने सम्भावना ८० प्रतिशत रहन्छ । यसरी दोहोरिएको अवस्थालाई बायोपोलार एफेक्टिभ डिसअर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिस्टम देखिन्छ । यो कहिले ६ महिनामा तथा कहिले ३ देखि ४ वर्षमा दोहोरिने गर्छ । सामान्यतया, १४ देखि १९ वर्षको उमेरमा हाइपोमेनिया सुरु हुन्छ र ४० वर्षपछि आफैँ कम हुँदै जान्छ ।
नेपालमा हाइपोमेनियाबारे तथ्यांक संकलन खासै भएको छैन । जसले गर्दा, यो रोगबाट कति पीडित छन् भन्ने यकिन तथ्यांक छैन । तर, मानसिक स्वास्थ्य विभागको एक तथ्यांकअनुसार नेपालमा हाइपोमेनियाका करिब डेढ लाख बिरामी छन् ।

टिनएजर बढी पीडित

विशेषगरी, विवाहित दम्पती हाइपोमेनियाबाट बढी पीडित हुने गर्छन् । हाइपोमेनियाका लक्षणलाई समाजले सजिलै नस्विकार्ने भएकाले पनि थप समस्या ल्याउने गरेको पाइन्छ । जसले गर्दा दम्पतीबीच चर्को विवाद हुने र रोग पहिचान हुन नसक्दा कतिपय अवस्थामा छुट्टिएर बस्ने अवस्थासमेत आउँछ ।
किशोर–किशोरीमा हाइपोमेनिया देखापरेमा आमाबाबु वा आफन्तले अटेरी भएको संज्ञा दिएर व्यवहार परिवर्तन गर्न दबाब दिने गर्छन् । यसले गर्दा, बिरामीलाई मानसिक दबाब पर्ने भएकाले यो समस्या बढी बल्झिने गर्छ । किशोरहरूमा यस्तो स्वभाव देखापरेमा परिवारले लागुऔषध सेवन गर्ने गरेको बुझ्छन् । जसले गर्दा, परिवारमा थप समस्या सिर्जना हुने गरेको पाइन्छ । हाइपोमेनिया भएको भनेर सजिलै नपत्याउने भएकाले उपचारका लागि अस्पताल पुगिसकेकाको समेत उपचारमा ढिलाइ हुने गरेको पाइएको छ ।
आफूलाई हाइपोमेनिया भएकोबारे बिरामीले अस्वीकार गर्ने हुँदा घर–परिवारसँगको सम्बन्ध बिग्रदैँ जान्छ । मानसिक दबाबका कारण बिरामीलाई बायोपोलार डिसअर्डर हुुने अधिक सम्भावना रहन्छ । तसर्थ, हाइपोमेनियाको लक्षण देखापरेमा तुरुन्त मनोेचिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ र बढी बोलिरहनुपर्ने हुन्छ । यो समस्या भएका मानिस कुनै विषयमा पनि प्रभावित भइहाल्ने खालका हुन्छन् ।

प्रकाशित मिति : ३० असार २०७६ सोमबार ००:००  १२ : १४ बजे