२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

बिहान खालीपेटमा कफी पिउनु राम्रो कि नराम्रो ?



एजेन्सी ।
बिहान खाली पेटमा कफी पिउनाले एसिड बढ्ने, मुटु पोल्ने र ग्यास जस्ता समस्याहरू निम्त्याउन सक्छ। कफीमा पाइने क्याफिनले तनाव हार्मोन बढाएर बेचैनी र निद्राको समस्या उत्पन्न गराउन सक्छ।

बिहान केही खाएपछि मात्र कफी पिउनु र यसको साटो मनतातो पानी वा हर्बल चियाको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।
काठमाडौँ । आजकल धेरैजसो मानिस आफ्नो दिनको शुरुआत एक कप कफीबाट गर्छन् । आँखा राम्रोसँग नखुलिकनै कफी पिउनु धेरैको बानी बनेको छ ।

हुन पनि कफीले तुरुन्तै ताजगी र ऊर्जा प्रदान गर्दछ । क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँछ र व्यक्तिलाई थप ऊर्जावान् महसुस गर्न मद्दत गर्छ । तर उठ्नेबित्तिकै केही नखाई कफी पिउनु सही हो त रु यो बानीलाई बेवास्ता गर्नु नहुने विज्ञहरू मान्छन् ।

यो बानीको प्रभाव बिस्तारै शरीरमा महसुस हुने भएकोले पनि यस्तो भनिएको हो । आजको यस लेखमा हामी बिहान खाली पेटमा कफी पिउनुका हानीहरूबारे कुराकानी गर्नेछौं ।

मुटु पोल्ने, ग्यास र भारीपन हुन सक्छ
बिहान खाली पेटमा कफी पिउनाले पेटमा एसिड बढ्न सक्छ । यसले मुटु पोल्ने, ग्यास र भारीपन निम्त्याउन सक्छ । बिहान उठ्नेबित्तिकै कफी खाँदा पेट खाली हुन्छ, कफीको प्रभाव बढी महसुस हुन्छ ।

मुटुको धड्कन र बेचैनी बढाउन सक्छ
कफीमा रहेको क्याफिनले तनाव हार्मोन बढाउन सक्छ । यसले चिन्ता, बेचैनी र मुटुको धड्कन बढाउन सक्छ । बिहान कफी पिएपछि केही मानिसलाई असहज महसुस हुनुको कारण पनि यही हो ।

निद्राको ढाँचामा खलल

यो बानीले निद्राको ढाँचामा बाधा पुर्‍याउन सक्छ । दिनभरि थकान र कमजोरी महसुस गर्नु पनि यसको कारण हुन सक्छ । केही अवस्थामा रगतमा चिनीको मात्रामा उतारचढाव पनि देखिन्छ, जसले शरीरको सन्तुलनलाई बाधा पु‍र्‍याउन सक्छ ।

के हो कफी पिउने सही तरिका ?

यदि तपाईं कफी छोड्न चाहनुहुन्न भने यसलाई सही तरिकाले सेवन गर्नु जरुरी छ । बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिले पानी पिउनुहोस् । हल्का ब्रेकफास्ट र त्यसपछि मात्रै कफीको सेवन गर्नुहोस् । यसो गर्दा पेटमा सीधै असर पर्दैन ।

दिनमा १ देखि २ कप कफी पिउनु उचित मानिन्छ । धेरै कडा कफीबाट बच्नुस् र चिनीको मात्रा पनि सीमित गर्नुस् । यदि तपाईंलाई पहिल्यै पेट, एसीडीटी वा निद्राको समस्या छ भने कफीको मात्रा र समयबारे आफ्नो डाक्टरसँग परामर्श गर्नुस् ।

बिहान कफीको सट्टा के पिउन सकिन्छ ?

तपाईं बिहान ताजगी महसुस गर्न चाहनुहुन्छ भने कफीबाहेक पनि पिउनका लागि धेरै विकल्प छन् । मनतातो पानी, कागती पानी वा हर्बल चियाले शरीरलाई बिस्तारै सक्रिय बनाउन सक्छ । ग्रीन टी पनि राम्रो विकल्प हुन सक्छ ।

कफी पिउनु पूर्णतया गलत होइन, तर यसलाई सही समयमा अनि सन्तुलित मात्रामा सेवन गर्नु महत्त्वपूर्ण हुन्छ । अलिकति सावधानी अपनाएर तपाईं यसको साइड इफेक्टबाट बच्न र राम्रो स्वास्थ्य कायम राख्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२ शनिबार ००:००  १२ : ४८ बजे