२७ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मिन् बालिका, आफ्नै दिदीको रेकर्ड तोडियो


एजेन्सी ।

सन् १९९२ मा एक दम्पतीले उनीहरूबाट तयार भ्रूण दान गरेका थिए। उक्त भ्रूण मिडवेस्टस्थित एउटा क्लिनिकले फ्रिजमा जोगाएर राखेको थियो। टेनेसीको नोक्सभिलस्थित एउटा स्कुलकी प्राथमिक शिक्षक टिना गिब्सन त्यतिबेला केबल दुई वर्षकी थिइन्। आफू दुई वर्षकी हुँदा अर्कै जोडीले दान गरेका तिनै भ्रूणबाट अहिले टिनाले छोरी जन्माएकी छन्।

यसै वर्ष फेब्रुअरीमा टिनाको गर्भमा उक्त २७ वर्ष पुरानो भ्रूण राखिएको थियो। त्यसैको परिणाम, गत अक्टोबरमा उनले २ किलो ८० ग्राम तौल भएकी स्वस्थ बालिकालाई जन्म दिइन्। टिना र उनका पति बेनले ती बच्चीको नाम ुमोलीु राखेका छन्। मोलीको जन्मसँगै संसारमै फ्रिजमा सबभन्दा लामो समय राखिएको भ्रूणबाट जन्मिने बच्चाको नयाँ रेकर्ड कायम भएको छ। मोली २७ वर्ष पुरानो भ्रूणबाट जन्मेकी हुन्।


यसअघि यो रेकर्ड एम्मा नामकी बच्चीले राखेकी थिइन्। उनी २४ वर्ष फ्रिजमा रहेको भ्रूणबाट जन्मेकी थिइन्। रोचक कुरा, एम्मा पनि टिना र बेनकै छोरी हुन्।

टेनेसीस्थित ुनेसनल इम्ब्रियो डोनेसन सेन्टरुको रेकर्ड अनुसार यसअघि सन् २०१७ मा यही जोडीले एम्मालाई जन्म दिएका थिए। अझै रोचक, एम्माको भ्रूण पनि मोलीकै भ्रूणदाताको हो। यसरी एकै दाताको भ्रूणहरूबाट एम्मा र मोलीको जन्म भएको हो। अनि अहिले उनीहरूका आमाबुवा पनि एकै हुन्।


ईश्वरले पहिले नै हाम्रो परिवारको संरचना तयार पारिदिनुभएको रहेछ। म यसलाई अनुकम्पा नै भन्ठान्छु,ु दंग परेकी टिनाले सुनाइन्, यी दुवै छोरी परमेश्वरले हाम्रो निम्ति भनेरै धर्तीमा पठाइदिएका हुन्। थप अरू कुनै बच्चाको त म कल्पना पनि गर्न सक्दिनँ।

सन् १९९२, अक्टोबर १४ मा दिन फ्रिजमा राखिएको भ्रूण र त्यसले पार गर्दै आएको प्रक्रियाले नै अहिले मोलीको रूपमा जन्म लिएको हो। फ्रिजबाट निकालेर गर्भमा प्रत्यारोपाण गर्ने काम भने सन् २०२०, फेब्रुअरीमा गरिएको थियो।

ुकुनै पनि भ्रूणलाई गर्भमा राखिनुभन्दा पहिले फ्रिजमा सुरक्षित भण्डारण गरिएको यो सबभन्दा लामो अवधि हो,ु युनिभर्सिटी अफ टेनेसी प्रिस्टन मेडिकल लाइब्रेरीकी निर्देशिका मार्था अर्ल भन्छिन्। मार्थाका अनुसार उनले यसबारेमा मेडिकल जर्नलहरूमा प्रकाशित लेखरचना अध्ययन गर्दा पनि यसभन्दा पहिले यतिका अवधिसम्म फ्रिजमा राखिएको भ्रूणबाट जीवित बच्चा जन्मिएको कुनै उदाहरण थिएन।

मोलीको जन्मसँगै संसारमा भ्रूणलाई फ्रिजमा सुरक्षित राख्ने हो भने जतिसुकै लामो अवधि पछि पनि त्यसले बच्चाको जन्म गराउन सक्ने उदाहरण प्रस्तुत गरेको छ। जबकि सन् १९९० दशक हेरेर हिजोआज फ्रिज सम्बन्धी प्रविधिमा धेरै उन्नति भइसकेको छ,ु नेसनल इम्ब्रियो डोनेसन सेन्टरका निर्देशक जेफरी कीनान भन्छन्। यो सेन्टर इच्छुक दम्पत्तिलाई अर्कैले दान गरेको भ्रूण हस्तान्तरण गराएर सन्तानको इच्छा पूरा गराउन खोलिएको इशाइ धार्मिक संगठन हो।

ुयदि सुरक्षित तवरले गर्भमा प्रत्यारोपण गरिदिने हो भने जतिसुकै पुरानो भ्रूणले पनि उत्तिकै राम्रोसँग बच्चा जन्माउने प्रक्रिया अघि बढाउन सक्छ, उनी भन्छन्, यस्तो अवस्थामा त्यो भ्रूण कति पुरानो हो वा भर्खरै पैदा भएको हो भन्ने कुराले कुनै मतलबै राख्दैन।

मोलीको जन्मले नयाँ तथ्य स्थापित गरेको छ।अब सन्तान प्राप्त गर्न इच्छुक कुनै पनि दम्पतीलाई प्रजनन् सम्बन्धी चिकित्सकले जतिसुकै वर्ष वा दशकौं पुरानो भ्रूण भए पनि त्यो प्रभावकारी हुनसक्छ भनेर सुझाव दिन सक्छन्, जोन होपकिन्स फर्टिलिटी सेन्टरका मेडिकल डाइरेक्टर डा। मिन्डी एस क्रिस्टियनसन भन्छिन्, यसअघि प्रायः मानिसले भ्रुण कति लामो समयसम्म बाँच्न सक्छ भनेर सोध्दा हामी निरुत्तर हुने गरेका थियौं।

अब उदाहरणै दिएर भन्नुपर्दा पनि २७ वर्षसम्म फ्रिजमा राखिएको भ्रूणबाट बच्ची जन्मिएकी छिन्ु भनेर ढुक्कैले बताउन सक्छौं।

फ्रिजमा राखिएको भ्रूणबाट जन्मेकी मोली। तस्बिरः द वासिङटन पोस्ट
सिकागोस्थित इनभाया फर्टिलिटी स्पेसलिस्टुमा डिम्ब दान गर्ने कार्यक्रमकी निर्देशक डा। सिगल क्लिप्स्टेनका अनुसार भ्रूण कति लामो समय फ्रिजमा राखिएको हो भन्नेले प्रजनन सम्बन्धी चिकित्सकका लागि खासै माने राख्दैन।

ुमतलब राख्ने कुरा भनेको फ्रिजमा राखिएको भ्रूणको गुणस्तर कस्तो छ भन्ने हो,ु उनी भन्छिन्, ुयदि गुणस्तर राम्रो छ भने फ्रिजमा राख्दा पनि त्यो राम्रै अवस्थामा रहिरहन्छ र पछि कुनै महिलाको गर्भमा प्रत्यारोपण गर्दा राम्रै नतिजा निकाल्छ।

टिनाले भने यो उपाय अखबारको खबर पढेर थाहा पाएकी हुन्। एक जना महिलाले दान गरिएको भ्रूण आफ्नो गर्भमा प्रत्यारोपण गरेर बच्चा जन्माएको समाचार देखेपछि आफूहरूले त्यसैगरी सन्तान जन्माउने रहर पलाएको टिना बताउँछिन्।

सुरूमा त उनी र उनका पतिले कुनै जन्मिसकेको बच्चा नै पाल्ने कोशिस गरे। तर, धर्मसन्तान सम्बन्धी जटिल प्रक्रियाले उनीहरूलाई पाँच वर्षसम्मै झुलाइदियो। त्यसपछि कृत्रिम गर्भाधान उपाय अपनाउन पनि टिनाका ३६ वर्षे पति बेन सिस्टिक फाइब्रोसिसु रोगको बिरामी भएकाले आँट आएन। किनभने वंशाणुगत रूपले सर्ने छाती सम्बन्धी त्यो रोग आफ्नो सन्तानमा नआओस् भन्ने टिना र उनका पति चाहन्थे।

त्यसपछि उनीहरूले भ्रुण दान गरिने केन्द्रको चक्कर लगाउन सुरू गरे। यसरी खोजीमा निस्कँदा उनीहरूले त्यस्ता दान गरिएका भ्रूणका अभिभावकको उमेर, उनीहरूको शारीरिक अवस्था, शैक्षिक र स्वास्थ्य सम्बन्धी पृष्ठभूमिका साथै उनीहरूका रूचिका कुरा जस्ता सबै जानकारी छानबिन गरे। यी सबै जानकारी त उपलब्ध थियो नै, भ्रूण कति पुराना हुन् भन्ने जानकारी भने थिएन।

यस्तोमा कति पुरानो भ्रूण आफूमा प्रत्यारोपण गरिने हो भनेर टिना अलि आत्तिएकी थिइन्। उनलाई नआत्तिन र यसले बच्चाको स्वास्थ्यमा कुनै फरक नपर्ने भनेर नेसनल इम्ब्रियो डोनेशन सेन्टरका निर्देशक डा। जेफरी कीनानले आश्वस्त पारेका थिए।

मेरा दुवै छोरी जन्माउँदा गर्भावस्थामा कुनै समस्या महशुस गरिनँ, टीना भन्छिन्, त्यसैगरी मेरा दुवै छोरी एकदमै स्वस्थ पनि छन्।

अहिले आएर भ्रूण कति पुरानो थियो भन्ने कुरा सम्झँदा आफूहरूलाई हाँसो उठ्ने टिना बताउँछिन्।

मेरी जेठी छोरी एम्मालाई हामी जहिले पनि ुपुरानो आत्माु भनेर जिस्काउँथ्यौं, टिना भन्छिन्, एम्माले केही गर्दा पनि ुलौ हेर नब्बेको दशककी बच्चीले आफ्नो रूप देखाउन थालीु भनेर मजाक गर्थ्यौं।

डा। किनानका अनुसार उनको भ्रूण दान केन्द्रबाट अहिलेसम्म एक हजारजति बालबालिकाको जन्म भइसकेको छ। यो प्रक्रिया कृत्रिम गर्भाधानभन्दा कम खर्चिलो पनि छ।

कृत्रिम गर्भाधान गराउने अभिभावकले उनीहरूको इच्छाइएको मात्राको परिवार बनाउने प्रक्रियामा खपत हुनेबाहेक बचेका बाँकी भ्रूण विभिन्न प्रयोजनमा प्रयोग गर्दै आएका छन्। त्यसैमध्ये तयार भ्रूण अन्यलाई दान गर्ने, त्यसै नष्ट पारिदिने, स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि दान गर्ने वा लामो समय फ्रिजमा थन्क्याइदिने जस्ता विकल्प हुन्छन्।

डा. क्रिस्टियनसनका अनुसार उनले गरेको अनुभवमा पछिल्लो समय भ्रूण दान गर्नेको संख्या बढ्दो छ। यस्तो अवस्थामा तयार भ्रूण नै उपलब्ध भएपछि मानिसले कृत्रिम गर्भाधान गराइरहनै पर्दैन। सोझै महिलाको गर्भमा भ्रूण प्रत्यारोपण गरिदिए पुग्छ।

तर, अहिले पनि कतिपय मानिस आफ्नो भ्रूण अरू कसैलाई दिने मामिलामा दोधार पर्छन्। आफ्नो सन्तान अरू कसैले हुर्काउने कुराले उनीहरूलाई दोमनमा पार्छ।

ुयो पक्कै पनि सबैमा उस्तै रूपले लागू हुने कुरा होइन,ु डा। क्रिस्टियनसन भन्छिन्।

अर्की चिकित्सक डा। क्लिप्स्टेनको अनुभवमा एक प्रतिशतभन्दा कम मानिसले मात्रै कृत्रिम गर्भाधान गरेपछि आफ्नो बचेको भ्रूण कसैलाई दान दिन इच्छा देखाउने गरेका छन्।

ुआफूलाई चाहिएको सन्तान भइसकेपछि बाँकी भ्रूण अरूलाई दान गर्न अलि कसोकसो त लागिहाल्छ,ु डा। क्लिप्स्टेन भन्छिन्, ुआफूले गर्भमा नहुर्काए पनि आफ्नो शरीरबाटै निस्केका चिजसँग त मानिस स्वाभाविक रूपले नै जोडिइरहने हुन्छ।ु

डा। किनानको अनुभवमा भ्रूण दान गर्न इच्छुक धेरै दाताले भने सन्तान जन्माउने अभिभावकसँग सम्बन्ध राख्न चाहिरहेका हुन्छन्।

कृत्रिम गर्भाधानबाटै शेन र टिफानी ओग्लेले जुम्ल्याहा छोरा र एउटी छोरी जन्माएका थिए। बाँकीका चारवटा भ्रूण उनीहरूले दान गर्ने सोच बनाए। ती दान गरिएका भ्रूणमध्ये एउटाबाट तीन वर्षअघि छोरीको जन्म भइसकेको छ। ओग्ले दम्पती अहिले पनि वर्षमा एक(दुइपटक ती छोरीको घरमा भेटघाटका निम्ति गइरहन्छन्। त्यसैगरी उनका अभिभावकबाट बारम्बार छोरीको हालखबर लिइरहन पनि छुटाउँदैनन्।

ुभ्रूण दान गर्नु भनेको धेरै मगज खियाइराख्नुपर्ने कुरा होइन,ु नोक्सभिलभन्दा १८ माइल पर टेनेसीकै मेरीभिलमा बसोबास ग र्दैआएकी ४० वर्षीया टिफानी ओग्ले भन्छिन्।

ुआफूलाई आवश्यक भ्रूण प्रयोग गरेर बाँकी बचेको अरूलाई दिन मिल्छ भन्ने थाहा पाएपछि यो कुनै दम्पतीका लागि उपहारै हुनेछ जस्तो लाग्यो,ु उनले थपिन्, ुयसरी भ्रूण दिए पनि यो हाम्रो बच्चा चाहिँ होइन भन्ने बारे हामी सुरूदेखि नै ढुक्क थियौं। हो, हाम्रो डिएनए हो तर कुनै अर्कै परिवारको सदस्य अनि कोही अरूकै सन्तान।

द न्यूयोर्क टाइम्सका लागि मारिया क्रेमरले लेखेको स्टोरीको भावानुवाद

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस