मायादेवी अनलाइन, बुड्ढी ।
भृकुटी माध्यमिक विद्यालय, बुड्ढीले मंगलबार ५८औँ वार्षिकोत्सव तथा २३औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष सुसिल कुमार चौधरीले विद्यालयको शैक्षिक प्रगतिप्रति प्रशंसा गर्दै विद्यालयलाई जिल्ला तथा प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयतर्फ भृकुटी माविको शैक्षिक नतिजा उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले शिक्षक, विद्यार्थीका साथै अभिभावकको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
यस्तै, विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष रोम बहादुर थापाले विद्यालय यस क्षेत्रकै नमुना विद्यालय बन्न सफल भएकोमा शुभकामना व्यक्त गर्दै यसको थप स्तरोन्नतिमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । विद्यार्थीको शैक्षिक विकासमा विद्यालयसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बेदप्रकाश भुसालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनराज बेल्वासेको अध्यक्षता, सहायक प्रधानाध्यापक ईश्वर बहादुर पुनको स्वागत मन्तव्य तथा शिक्षक कृष्णप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
हाल भृकुटी माध्यमिक विद्यालयमा ९ सय ११ जना विद्यार्थी अध्ययनरत छन् ।








प्रतिक्रिया