२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने



एजेन्सी ।

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने भएको छ ।

संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा भएको विश्व शिखर सम्मेलनमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले अन्य युरोपेली देशहरूलाई पनि यस्तै उपायहरू लागू गर्न आह्वान गर्नुभयो ।

सान्चेजको वामपन्थी गठबन्धन सरकारले सामाजिक सञ्जालमा घृणायुक्त भाषण, अश्लील सामग्री र गलत सूचना प्रसारको बारेमा बारम्बार गुनासो गर्दै आएको छ र यसले युवाहरूमा नकारात्मक प्रभाव पारेको बताएको छ ।

स्पेनी प्रधानमन्त्री सान्चेजले आफ्नो सरकारले अर्को हप्ता सामाजिक सञ्जालका कार्यकारीहरूलाई गैरकानूनी र घृणायुक्त भाषण सामग्रीका लागि जवाफदेही बनाउनुका साथै एल्गोरिथमिक हेरफेर र अवैध सामग्रीको प्रवर्द्धनलाई रोक्न विधेयक पेश गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । बेलायत र फ्रान्सजस्ता अन्य देशहरूले यस्तै खाले प्रतिबन्धहरूबारे विचार गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०८२ मंगलबार ००:००  ७ : ०४ बजे