१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा थप भयावह बन्दै कोरोनाः एकैदिन ५ जनाको ज्यान गयो !



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा आज (आइतबार) एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो ।

आइतबार सबैभन्दा धेरै कपिलवस्तु नगरपालिकाका ३ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० बर्षीया महिला रहेका छन् ।

यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ बर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले मायादेवीलाई जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताउनुभयो । यस्तै आज थप ६२ जनाले कोरोना जितेका छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् भने ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र १०२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणदर बढेकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८ आइतबार ००:००  ६ : ०८ बजे