१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

विक्रम पावरामा चुरेको निर्णय लत्याउदै नदीमा तीव्र दोहन, पत्रको वेवास्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।
अर्घाखाँचीको चुरे संरक्षण क्षेत्रमा पर्ने वाणगंगा नदीमा यतिवेला २ वटा मेसिन प्रयोग गरी चुरे दोहन भएको छ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको निर्णय विपरित विक्रम पावरा नदी क्षेत्रमा हेवी मेसिनको प्रयोग गरी चुरे दोहन भैरहेको छ ।

गाउँ नै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका छन् । नगरले केही ठेकेदारसित मिलेर ऐन कानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने अनुमती दिएको फेला परेको हो ।

नगरले रुपन्देहिको डि. एस. कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ८ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ ।

ठेकेदारले २ वटा ठुला औजार स्काभेटरले नदीजन्य पदार्थ निकासीका लागि करिव १ दर्जन टिप्परको प्रयोग गरि मनपरि दोहन गरेका छन् । एउटा टिप्परले दैनिक १२÷१५ ट्रिप गर्ने गरेको स्थानियको भनाई छ । यस अगाडी चुरे दोहनका विषयमा विभिन्न अनलाइनमा समाचार प्रकाशित भएपछि राष्ट्रपति चुरे –तराई मधेश संरक्षण विकास समितिको ध्यानाकर्षण भएको थियो ।
चुरेमा मेशिन प्रयोगमा रोक तर कार्यान्वयन भएन्

शीतगंगा नगरपालिकाले चुरे संरक्षण अन्तरगत पर्ने बाणगंगा खोला लगाएतका ६ वटा घाटक्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्÷संकलनका लागि चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ बमोजिम समितिका प्रविधिक टोलीले नै अध्ययन गरि २०७७÷१२÷०१ को पत्रबाट कामदारहरुबाट घरेलु औजार प्रयोग गरि नदिजन्य पदार्थ संकलन गर्न अनुमती दिएको तर नगरले अनुमती विपरित नदिजन्य पदार्थ दोहन गरेको विषयमा समाचार आईसकेको हुदाँ शर्त विपरित भएका कार्यहरु तत्काल बन्द गर्न निर्देशन जारी गरेको भएपनी दिनहुँ खुलेयाम मेशिनको प्रयोग गरी दोहन बढेको हो ।

साथै पत्रमा तोकिएका शर्तहरु विपरित भैरहेका कार्य यथाशिघ्र बन्द गराई सोको जानकारी पठाउन शितगंगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, डिभिजन वन कार्यालय अर्घाखाँची लगाएतलाई पत्राचार गरेको छ ।

सवारी अनुमती पत्रका भरमा निकासी

ठेकेदारले विभिन्न सरोकारवालाको मिलेमत्तोमा जिल्ला प्रसाशन कार्यालयले जारी गरेको सवारी अनुमती पत्रका भरमा निकासी गरेका छन् । राजश्व रसिद विना नै लकडाउनमा ढुवानी गर्ने टिप्पर चालकले पास जारी भएको पत्र देखाउँदै निकासी गरेका हुन् ।

वनक्षेत्र भित्रै डम्पिङ्ग

ठेकेदारले कतैपनी नियमानुसार काम गरेको छैनन् । उत्खनन्बाट संकलित केही नदिजन्य पदार्थ अर्घाखाँचीकै पावरा विक्रम गाउँ नजिकको सामुदायिक वन र धेरै परिमाण कपिलवस्तुको नन्दनगर स्थित कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनभित्र डम्पिङ्ग गरेका छन् । जुन वन ऐन विपरित भएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन मोहन स्याडिल्यले बताए । उनले तत्काल हटाउन पत्राचार भैसकेको बताए । यसरी यि दुई डम्पिङ्गमा रहेको नदिजन्य पदार्थ हेर्दापनि तोकेको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् भैसकेको देखिन्छ ।

अनुगमनको टुंगो छैन्, नियमन निकायको गैर जिम्मेवार तर्क

यसरी ठेकेदारले मनपरि गर्दा र राज्यकै जिम्मेवार निकायबाटै रोक लगाउन पत्राचार गर्दा समेत सरोकारवाला निकाय मुखदर्शक भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले चुरेको पत्र प्राप्त भएको तर जिम्मेवार निकाय जिल्ला समन्वय समिति र नगरपालिका नै भएको हुदाँ उनीहरुले पत्रको कार्यान्वयन नगरे मात्र आफुहरुले गर्ने भन्दै प्रतिक्षामा बसेको बताए ।

यता समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल समेत जिम्मेवारीबाट तर्कन खोजे । उनले लकडाउनको अवस्था भयावह भएको भन्दै एक्लैले अनुगमन नहुने १५÷२० जना जान सम्भव नभएको गैर जिम्मेवारी तर्क गरे । ढुवानी गर्ने सवारी साधन टिप्परले रसिदको प्रयोग भने अनिवार्य गर्नुपर्ने उनको भनाई थियो ।

यता शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर के.सी.ले नगरकार्य पालिकाको वैठकले मेसिनविना उत्खनन् संम्भव नभएको भन्दै मेशिनको प्रयोग गर्ने अनुमती दिएको भन्दै राजश्व जम्मा भैसकेको हुँँदा नगर कार्यपालिकाको निर्णय परिवर्तन नहुने मेशिन नै प्रयोग हुने बताए ।

दोहनबारे तल्लो तटिय क्षेत्रका बासिन्दामा चिन्ता

चुरेको माटो खुकुलो हुने र चुरे दोहनलाई बेलैमा नियन्त्रण गर्नेतर्फ ध्यान नदिने हो भने यसले भविष्यमा ठूलै विपत्ति ल्याउन सक्ने भन्दै चुरेको आसपास र तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

संघीय सरकारमात्र होइन, प्रदेश र स्थानीय सरकार पनि उत्तिकै सजग हुन जरुरी रहेको बाणगंगा २ राजपुरका विपिन पौडेलले बताए ।

मुख्य कुरा चुरे संरक्षणका लागि ल्याइएका कार्यक्रमहरुको प्रभावकारी हिसाबले कार्यान्वयन गर्नुपर्छ भन्ने चुरे दोहनमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाही गर्नुपर्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८ शुक्रबार ००:००  ५ : ३४ बजे