३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता



ब्यावर (भारत) । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इन्जिनियरिङ सिकेर आफ्नो घर-परिवारमा उज्यालो र आशा फिर्ता ल्याउन सफल भएका छन् । 

खानीमा दशकौँसम्म काम गर्दा श्वासप्रश्वास बिग्रिने पुरानो रोग सिलिकोसिसबाट उहाँका पति ओछ्यानमै परेपछि, परिवारको भविष्य बचाउन सन्तोषले हातमा नयाँ सीप लिन बाध्य हुनुभयो । राजस्थानका करिब ३३ हजार खानीमा अत्यधिक मात्रामा पाइने सिलिका धुलोको दीर्घ सम्पर्कले उत्पन्न हुने यो रोग त्यहाँका हजारौँ परिवारको त्रास हो । 

आफ्ना चार सन्तानसहित बस्दै आउनु भएकी ३६ वर्षीया सन्तोष बेयरफुट कलेज, तिलोनिया, ब्यावरभन्दा दुई घण्टा टाढा, तीन महिनाको सौर्य इन्जिनियरिङ तालिममा सहभागी भएपछि पहिलो पटक आर्थिक आत्मनिर्भरता बटुल्न सफल हुनु भएको छ । प्यानल जडानदेखि तार जाडन, बत्ती जडानदेखि मर्मतसम्म सिकेपछि उहाँले गाउँमै विद्युत नपुगेका घर उज्यालो बनाउन योगदान गरिरहनु भएको छ ।

उहाँका पति सिलिकोसिसका कारण अब मुश्किलले हिँडडुल गर्न सक्नु हुन्छ । चिकित्सकीय खर्च निकै महङ्गो छ र राज्यले दिने न्यून भत्ता मात्र नै नियमित आयको स्रोत बनेको छ । यसैबिच बेयरफुट कलेजले स्थापित गरेको कार्यक्रमले सन्तोष जस्ता महिलालाई रोजगारी, आत्मविश्वास र घर सम्भारको विकल्प प्रदान गरेको छ । संस्थानका प्राविधिक प्रबन्धक कमलेश बिष्टका अनुसार सन् १९७२ मा स्थापना भएदेखि हालसम्म ९६ देशका तीन हजारभन्दा बढी महिलालाई तालिम दिने कलेजको मुख्य लक्ष्य ग्रामीण महिलालाई स्वाबलम्बि बनाउनु हो ।

निरक्षर सन्तोषको सपनासमेत साधारण छैन । उहाँ आफ्ना पाँचदेखि २० वर्ष उमेरका छोराछोरीलाई ‘राम्रो शिक्षा र उज्यालो भविष्य’ दिन चाहनुहुन्छ । अहिले थोरै भए पनि सौर्य प्यानल जडानबाट आम्दानी गर्न थाल्नु भएकी उहाँ भविष्यमा महिनामा करिब ७० अमेरिकी डलर बराबर कमाउने आशा राख्नु हुन्छ । परिवारबाट टाढा बसेर प्रशिक्षण लिनु कठिन भएको स्वीकार गर्दै उहाँले यो सबै ‘लायकको यात्रा’ भएको बताउनुभयो । सन्तोषले गर्वका साथ तीन घरमा आफूले जडान गरेका फोटोभोल्टिक प्यानल देखाउनुभयो, जसले बत्ति, फ्यान र चार्जर चलाउन आवश्यक विद्युत उत्पादन गरिरहेका छन् ।

-मरुभूमिमा फैलिएको ‘स्लो किलर’-

उहाँका पतिले वर्षौंसम्म बलौटे ढुङ्गा काट्दै पेभर निर्माणका लागि लगिने ढुङ्गा निकाल्ने कठिन काम गर्नुभयो । अहिले १६ डलरको मासिक भत्ता बाहेक आयको कुनै स्रोत छैन, औषधि महङ्गो छ र स्वास्थ्य झनै ओरालो । आँसु पुछ्दै सन्तोषले गहना बेचेको, आफन्तसँग पैसा उधारो लिएको र आफ्नो मङ्गलसूत्र समेत राखेको बताउनुभयो ।

राजस्थान भर हजारौँ मानिस यस्तै अवस्थाबाट गुज्रिरहेका छन् । अजमेर जिल्ला मात्रै पाँच हजारदेखि छ हजार बिरामी रहेको पल्मोनोलोजिस्ट लोकेश कुमार गुप्ता बताउनुहुन्छ । केही गाउँमा त सयभन्दा बढीको अवस्था दयनीय छ । सन्तोष बस्ने ४०० घरको गाउँमा मात्रै ७० जना सिलिकोसिसबाट पीडित छन् । बिस्तारै शरीर निष्क्रिय बनाउने यो रोगको उपचार प्रायः हुँदैन ।

खानी मजदुर मध्ये धेरैले छ डलरभन्दा कममा दिनभरि ढुङ्गा काट्छन् । झनै जोखिमपूर्ण ज्याकह्यामर चलाउनेले दोब्बर कमाए पनि विषाक्त धुलोको सामना गर्नु पर्छ । ३४ वर्षीय विनोद राम पनि १५ वर्षदेखि खानीमा काम गर्दै आएकोमा अहिले ४५ किलो मात्रै तौल रहेको र औषधिले केही मिनेट मात्र राहत दिने बताउनुहुन्छ ।

-कामको विकल्प नभएका परिवार-

विनोदकी श्रीमती चम्पा देवीले पनि बेयरफुट कलेजबाट तालिम लिएर घर फर्केपछि चार घरमा प्यानल जडान गर्नु भएको छ, तर, हालसम्म भुक्तानी पाइसक्नु भएको छैन । अहिले उहाँ इँटाभट्टा तथा निर्माण स्थलमा दिनभर काम गरी करिब तीन डलर आम्दानी गर्नु हुन्छ, तर पतिको औषधि खर्च मात्र मासिक ८० डलरसम्म पुग्छ ।

यो जोडी एक अँध्यारो एककोठे घरमा, भुइँमा बिछ्याइएको पातलो कम्बलमा बस्छ, वरपरका खानीबाट हुने विस्फोटका आवाज सुनिन्छन् । “सिलिकोसिसको कुनै उपचार छैन”, चिकित्सक गुप्ता भन्नुहुन्छ । धेरै बिरामी ढिलो पाँचदेखि सात वर्षपछि मात्र उपचारका लागि पुग्छन्, जसले समस्या जटिल बनाउँछ ।

राज्यको राहत योजना अन्तर्गत बिरामीलाई प्रारम्भिक ३१० डलर र मृत्युको अवस्थामा परिवारलाई तीन हजार ४६५ डलर सहयोग गरिन्छ । तर धेरै जसो बिरामी अझै पनि परिवार धान्नका लागि बाध्य भएर, स्वास्थ्य जोखिमका बाबजुद बलौटे ढुङ्गा काट्न जारी राखिरहेका छन् । ५५ वर्षीय मजदुर सोहन लाल भन्नुहुन्छ, “यदि मलाई अस्पतालले रोग पुष्टि गरिदियो भने के फरक पर्छ ? काम गरिनँ भने परिवार भोकै बस्छ ।”

यसैबिच, बेयरफुट कलेजबाट सिकेका सौर्य सीपले सन्तोष जस्ता महिलामा आत्मविश्वास मात्र नभई, विषम परिस्थितिमाथि टिक्ने शक्ति पनि जगाइ दिएको छ-जहाँ रोग, गरिबी र संघर्षबिच पनि उज्यालो छर्ने आशाको किरण बल्दै गएको छ । रासस/एएफपी 

प्रकाशित मिति : १९ मंसिर २०८२ शुक्रबार ००:००  ५ : ५६ बजे