१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

४ सय ६४ जनामा सफल मोतियाबिन्दु शल्यक्रिया : बाणगंगाले वृद्ध आँखामा ल्यायो उज्यालो



सरिता थारु, बाणगंगा कपिलवस्तु ।

बाणगंगा नगरपालिका–३ गजेहडामा बस्दै आएकी ७५ वर्षीया पार्वती पुनका आँखामा मोतियाबिन्दु थियो। तीन महिनादेखि छोरीसँगै बस्दै आउनुभएकी उनको आँखाको उपचारका लागि बाणगंगा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया कार्यक्रमले नयाँ आशा जगाइदियो। छोरीको हात समाउँदै शिविरतर्फ लोरिले टेक्दै जाँदा पार्वतीको अनुहारमा उज्यालो जीवनको खुसी झल्किन्थ्यो।

त्यस्तै, वडा नं. ४ की ९० वर्षीया जोखनी थारु विगत पाँच वर्षदेखि एउटै आँखाले देख्न सक्नुभएन। नातिनी बुहारीको साथ बिहानै घरबाट निस्किनुभएकी उहाँ पनि कोपवा स्वास्थ्य चौकीमा भएको चेकजाँच तथा शल्यक्रिया शिविरमा पुग्नु भयो। नगरपालिकाको आर्थिक सहयोग र छन्दकाले बाबुनारायणी आँखा अस्पतालको प्राविधिक सहयोगले आफूजस्ता वृद्धवृद्धालाई ठूलो राहत मिलेको उहाँ बताउनुहुन्छ।

७८ वर्षीया ढुण्डीराज चुँदाली पनि बैशाखी टेक्दै विहानै शिविरमा उपस्थित हुनुभयो। तीन वर्षदेखि आँखाको समस्या झेल्दै आउनुभएका उहाँले यो शल्यक्रियाले जीवनमा फेरि उज्यालो देख्ने आशा पलाएको भन्नुभयो।

बाणगंगा नगरपालिकाले समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले निरन्तर तेस्रो वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि रु. ५ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयो। यसअघि पिपरा अस्पतालमा २१८ जनाको शल्यक्रिया भएको थियो। मंसिर १७ मा कोपवामा १४४ जनाको तथा मंसिर १८ मा २०६ जनाको गरी कुल ४६४ जनाको मोतियाबिन्दु शल्यक्रिया सम्पन्न भएको हो।

शिविरको क्रममा ३,१३३ जनालाई निशुल्क चस्मा वितरण गरियो। मंसिर ७ गतेबाट सुरु भएको चेकजाँच अभियानमा ६,१५३ जनाले आँखाको जाँच गराएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो। शल्यक्रियाअघि नगरका सबै वडामा आँखा चेकजाँच शिविर संचालन गरिएको थियो।

सामुदायिक स्वास्थ्य सुरक्षाका लागि बाणगंगा नगरपालिकाको यो पहल वृद्धवृद्धालाई मात्र होइन, सम्पूर्ण समुदायका लागि उदाहरणीय बनेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२ शुक्रबार ००:००  ६ : १० बजे