१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा गयरातिबाट दोश्रो चरणको निशेधाज्ञा, झन् कडा हुने !



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा गयराति १२ बजेदेखि निशेधाज्ञाको दोश्रो चरण सुरु भएको छ । कोरोना भाइरसको दोस्रो लहरले जिल्ला आक्रान्त भएपछि बैशाख २१ गतेदेखि राति १२ बजेसम्म पहिलो चरणको निशेधाज्ञा लागु गरिएको थियो । त्यसको समयसिमा सकिएपछि लगत्तै दोश्रो चरणको निशेधाज्ञा सुरु भएको हो । यसअघि बसेको वैठकले यो निर्णय लिइसकेको छ ।

पहिलो चरणको भन्दा यो निशेधाज्ञा झन् कडा हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । यसक्रममा सवारी साधनदेखि अन्यत्र स्थानमा हुने भीँडभाड शुन्य नै हुने गरी मातहतका निकायलाई निर्देशन दिइएको पाण्डेले बताउनु भयो । अत्यावश्यकीय पसल व्यवसाय विहान ९ बजे देखि दिउँसो १ बजेसम्म सञ्चालन हुँदै आएका छन् । यसमाथि पनि थप कडाई हुने प्रशासनले जनाएको छ ।

पासविनाका सवारी साधनहरु यो या त्यो बाहनामा चल्नै पाउने छैनन् तर मानवीय संवेदनाका आधारमा मात्र छुट हुने छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित बढेर १४२० पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ११७ पुगेको छ । यो स्थिति असामान्य रहेको भन्दै प्रशासनले लापरबाही गर्ने छुट कसैसंग नभएको बताएको छ ।

पहिलो चरणमा बिभिन्न क्षेत्रमा लापरबाही गरेको भेटिएको बताउँदै अनावश्यक भीडभाड गर्ने, विना काम बाहिर निस्कने, पार्टी प्यालेस, तथा होटल रेष्टुराँमाहरुमा साँझमा बस्ने, विवाह, लगायतका कार्यहरु भएकोमा अब जेठ १० गतेसम्म यसमाथि थप कडाई हुने पाण्डेले बताउनु भयो ।

निशेधाज्ञा उलंघन गर्नेमाथि प्रहरी पनि आक्रामक रुपमा प्रस्तुत हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले मायादेवी अनलाइनलाई बताउनु भयो । स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई ठाउँकोठाउँ कारबाही गरिने भएकाले कत्ति पनि लापरबाही नगर्न उहाँले जिल्लाबासीलाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ६ : २२ बजे