१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

लुम्बिनी सरकारद्धारा ४० अर्ब ९५ करोडको बजेट प्रस्तुत



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा साढे ३ अर्ब बढीको बजेट ल्याएको हो । मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक, मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । कोभिड-१९ महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याएको उनले बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्यसँगै कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनस्रुत्थान खर्च गर्ने गरी बजेट ल्याएको बताए ।

सरकारले स्वास्थ्यतर्फ चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता, पूर्वाधार विकासमा जोडदेखि उपचार खर्च निस्शुल्क गर्ने गरी बजेट विनियोजन गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालााई विशिष्टिकृत अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको छ भने राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्न डीपीआर निर्माण गरिने र त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

उनले हालसम्म ५० शय्यामा स्तरोन्नती भएका सबै अस्पतालमा विशेषज्ञ, दुर्गममा विशेषज्ञसहित शिविर गरिने बताए । दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पतालालाई २० शय्याको आयुर्वेद अस्पतालका रूपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको छ । प्रयोगशाला स्तरोन्नति, नवलपरासी पश्चिम र रूकुमपूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक-एक करोड रुपैयाँ छुट्याइएको उनले बताए ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशभरका सबै सरकारी अस्पतालहरूबाट निस्शुल्क रक्तसञ्चार सेवा आरम्भ गर्ने भएको छ । ‘निस्शुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै निस्शुल्क रक्तसञ्चार सेवा सुरु गर्न पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

त्यस्तै मिर्गौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउनेबाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराउनुका साथै १६ वर्षभन्दा मुनिका क्यान्सरका बिरामीका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध उनले बताए । यसैगरी कोरोना परीक्षणको दायरा बढाउने, अक्सिजन प्लान्ट स्थापना, प्रदेशका सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको निस्शुल्क उपचारका लागि पनि बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ५ : ५६ बजे