२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तु क्षेत्र नम्बर १ः बलिया संगठनका उम्मेदवारलाई वरिष्ठ समाजसेवी कुँवर भारी



चन्द्रकान्त न्यौपाने, जितपुर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक हेभीवेट भिडन्त हुने निश्चित देखिएको छ ।

नेपाली काँग्रेसबाट दुई पटक सांसद भइसकेका अतहर कमाल मुसलमान, नेकपा एमालेबाट संविधानसभा सदस्य भइसकेका विश्राम प्रसाद थारु, काँग्रेसका बागी उम्मेदवार आशिष शर्मा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट कृष्ण बहादुर कुँवर तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता मोहन आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।

यससँगै राष्ट्रिय जनमोर्चाबाट माधव भाट क्षेत्री र मधेशवादीसहित अन्य साना दलका उम्मेदवारहरू पनि मैदानमा रहेका छन्। यद्यपि मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा, रास्वपा र स्वतन्त्र उम्मेदवारबीचमै सीमित देखिन्छ। यसरी हेर्दा क्षेत्र न, १ मा अधिकांश एमालेका नेता–कार्यकर्ता कुँवरका नजिकका मित्र भएकाले विश्राम थारुलाई थप दबाब परेको देखिन्छ । यही अवस्था काँग्रेसका अतहर कमालको पनि छ। कुँवरले विगतमा काँग्रेसका विभिन्न संघ–संस्था र व्यक्तिलाई सहयोग गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसका मंगलप्रसाद थारुलाई बाणगंगा नगरपालिकाको मेयर बनाउन समेत कुँवरको ठूलो योगदान रहेको बताइन्छ ।

काँग्रेसभित्रै आन्तरिक संघर्ष र आशिष शर्माको स्वतन्त्र उम्मेदवारीले दबाबमा रहेका कमाललाई नेकपाबाट कुँवर उम्मेदवार बनेपछि थप कठिनाइ परेको छ । मधेश क्षेत्रमा कमालको पहिलेको प्रभाव कमजोर हुँदै गएको देखिन्छ ।

बाणगंगा मात्र नभई कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा पनि एमालेका थारु र काँग्रेसका कमालप्रति जनसमर्थन घट्दो देखिन्छ । २०७९ पछि मन्त्री बनेका एमाले नेता बलराम अधिकारी विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएपछि मधेशमा एमालेप्रति आक्रोश चुलिएको स्थानीयको भनाइ छ ।

अर्कोतर्फ मधेश क्षेत्रमा नेकपा एसका युवा नेता फैजल खानलाई नेकपाले चुनावी कमाण्डर तोकेपछि कुँवरलाई थप सहज भएको देखिन्छ। दक्षिणका तीनवटै पालिकामा फैजल खानको प्रभाव बलियो रहेको बताइन्छ, जसका कारण कमाल थप दबाबमा परेका छन् । प्रारम्भिक घरदैलो अभियानले कुँवर बलियो अवस्थामा देखिएको आंकलन गरिएको छ ।

सामाजिक र सहयोगी व्यक्तित्वका कारण पनि कुँवर कमाल र थारुका लागि भारी बनेका छन् । निस्वार्थ रूपमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएका कुँवरलाई जिताउन मतदातामा उत्साह देखिन्छ । चुनाव जितेपछि सरकारी तलब–भत्ता नलिने घोषणा पनि मतदातामाझ सकारात्मक रूपमा हेरिएको छ ।

“अब मलाई कमाउनु छैन, मैले भनेको दिने नै हो—चुनावअघि पनि दिएको छु, चुनावपछि पनि दिनेछु,” कुँवर भन्छन्।
उनले आगामी पाँच वर्षमा विगत २० वर्षमा नभएका काम गरेर देखाउने दाबी पनि गरेका छन् ।

चुनावी सरगर्मी बढ्दै जाँदा घरदैलोमा कमजोर ठानिएका कुँवरको बढ्दो क्रेज देखेर कमाल र थारु आत्तिन थालेको स्थानीय बताउँछन् । चुनाव जितेपछि जनतासँग सम्पर्क नराखेको आरोप खेपिरहेका पुराना नेताप्रति मतदाता आक्रोशित देखिँदा, कुँवरमाथि भरोसा बढ्दै गएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२ बुधबार ००:००  १२ : ५४ बजे