सबै सकिएर ब्राण्डको व्यापारमा लागेको एमाले र ओली प्रवृत्ति


दीपक अनुरागी ।
तत्कालिन प्रधानमन्त्री तथा डबल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक भाषणमा भने, ‘भष्ट्राचारी मेरो छेउमै नपर्नू । भष्ट्रचार नियन्त्रण गर्नू मेरो प्रमुख दायित्व हो । म त्यसमा दृढ छु ।’

नुन देखि सुन खरिदसम्ममा भष्ट्रचारको चरम पीडामा रुमल्लिएका कार्यकर्ता सामु देशको प्रधानमन्त्री र पार्टी अध्यक्षले यस्तो भाषण गर्दा थपडीले मञ्च नै गुञ्जयमान बन्यो । आशाका किरण जगाउने नेताको रुपमा उपमा पाएका ओलीले माहोलको मनशाय बुझेर उखान टुक्का हाल्न सिपालु नै छन् । सायद त्यस दिन भष्ट्रचार विरोधी कार्यकर्ताको उपस्थिति थियो, उनले फ्याट्ट भाषण गरिदिए ।

यतिमात्र होइन ओलीले भष्ट्राचार गर्नेको उछिटो काडिरहदा उनकै नजिकका व्यक्ति (जो मन्त्री थिए) उनले करोडौंको मोलमोलाई गर्दै थिए । विडम्वना ! त्यहीँ परिवेशमा भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपाललाई भष्ट्रचारी भएको मूलुकको सूचीमा बढवा दिने गरी प्रतिवेदन बनाउँदै थियो ।

विशाल कम्युनिष्ट पार्टीका अध्यक्ष, यतिमात्र होइन मुलुक हाक्ने प्रधानमन्त्री । जो बोल्दा मुलुक हल्लिनुपर्नेमा उल्टै उनी जोकरमा परिणत हुँदै थिए । ओलीले भष्ट्रचारबारे बोलिरहन्थे गोकुल बास्कोटाहरु करोडौंको डिल विचौलियासंग फोनमै गर्थे । ओलीले भष्ट्रचारी मेरो छेउमै नआउनू भन्दै भाषण गर्दा गडगडाहट तालि पाउँथे तर गोकुल बास्कोटालाई बालकोटको आफ्नो नीजि निवास सुम्पन्थे । एति, ओम्नी, ह्वाइटवडी, बालुवाटारकाण्डबारे पत्रपत्रिकाले लेखिरहन्थे कार्यकर्ताहरु पढ्ने चेस्टा गर्दैनथे । उल्टै त्यहीँ पत्रिकाले छोपेर व्यापारीले दिएको बदाम किनेर खान्थे ।

त्यहीँ पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह भष्ट्रचारको अखडा बने भन्दै चिन्ता जायेर गरिरहन्थे । खै ! नेता नेपालले भष्ट्रचारको चिन्ता जाहेर गर्दा थपडी बजेको सुनिएन । बरु सुनियो नेता नेपाल हावामा बोले । उखान, टुक्का र चुड्किला भन्दा नागरिकका पीडा, गुनासा र समस्याबारे बताइरहने नेता नेपालले बोल्दा भाषणमा उत्साह आउने परिवेश पक्कै थिएन् ।

सुरु एकातिर, आफ्नै तालमा नाच्दै हिड्ने ओली देख्दा नहास्ने को नै हुन सक्थ्यो र । हाँसो न हो । खुसीमा मात्र होइन् लाजमा पनि हाँसो देख्नु पर्ने हाँसोको शक्ति हो । सायद ओलीले त्यहीँ बुझेरै हसाउँदै हिड्थे ।

इतिहासमा सबैभन्दा बढी भष्ट्रचार ओली सरकारको पालामा भयो । केन्द्र देखि गाउँगाउँका सिंहदरबारमा भष्ट्रचार छिरेको विभिन्न सरकारी प्रतिवेदनले देखाइरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवदेन, महालेखा परिक्षकको कार्यलय, विभिन्न स्वतन्त्र निकायले निकालेका प्रतिवेदन पढ्दा प्रष्ट हुन्छ । चारैतिर ओली र उनका कार्यकर्ताले मात्र भष्ट्रचार गरेका हुन भन्दा पक्कै पूर्वाग्राही हुन्छ तर, ओलीले भष्ट्रचारी नियन्त्रण गर्न सकेनन्, उल्टै संरक्षण दिए भन्दा साँचो ठहरिन्छ । जुन दलका नेता कार्यकर्ताले जे मा भष्ट्रचार गरेपनि नियन्त्रण गर्नू सरकारको काम थियो । देश चलाउने प्रधानमन्त्री गुण र दोष दुवैको भागिदार हो ।

ओलीका कार्यकर्ताले आँखै अगाडीको भष्ट्रचारी देखेनन् । अडियो टेपका करोडौंका बार्गेनिङ सुन्न तयार भएनन् । एतिलाई पाखापखेरा बेच्दा उनीहरुले पत्तै पाएनन् । ओम्नीले माक्स, सेनिटाइजरमा करोडौंको खोटाला गर्दा कानमा तेल हालेर सुते तर व्यूझिने चेष्टा गरेनन् । बालुवाटार जग्गाकाण्डमा आफ्ना गुटका नेता बचाउन लागेको चर्तिकला सबैले देख्यौं नै ।

ओली इतरका व्यक्तिले यी कुरा उठाउँदा प्रचण्डले लडाकु शिविरमा भष्ट्रचार गरेकै हुन् । माधव नेपाल, बाबुराम भट्टराईले बालुवाटार बेच्दा पैसा खाएकै हुन्, जस्ता अप्रसांगिक, तथ्यहिन र आधारहिन कुरा गरेरै टार्ने काम गरे । हो ! ओली प्रवृत्तिको खतरनाक पक्ष भनेकै यस्तै तर्क गरेर गोयबल्स शैली अपनाउनु हो । प्रचण्डले लडाकु शिविरमा गरेको भष्ट्रचारबारे सतहमा कुरा उठेको छ तर ठ्याक्कै हो भन्ने कानुनी आधार देखिएको छैन् । त्यसको सत्य, तथ्य पत्ता लाग्ने पर्छ । तर, ओलीले गरेका गल्तीबाट बच्न यो कुरा उठाएर आफु बच्ने काम गर्नु सरासर बेइमानी र बदमासी प्रवृत्ति हो । बालुवाटारकाण्डबारे माधव नेपाल र बाबुराम भट्टराईलाई सर्वोच्चले फैसला गरिसकेको छ । कानुनी राज्य मान्ने जो कसैले सर्वोच्चको फैसला स्विकार्नु पर्छ नै ।

ओलीले उखानटुक्का हाल्दै भन्ने गर्थे, ‘नाङ्गो गोरु देख्दा मलाई लाज लाग्दैन् ।’ आँखै अगाडीको भष्ट्रचार देख्दा पनि सायद लाज लागेन नै । भष्ट्रचार गर्ने गोरु नै थिए नागरिक थिएनन् ।

कम्युनिष्ट पार्टीको सरकार । नागरिकले आँखै अगाडी देखिरहेका यी यस्ता कुकर्म । रसियाली कम्युनिष्ट पार्टी विघटन गर्न कसम खाएका गोर्भाचोव भन्दा कत्ति फरक देखिएको थिएन ओली प्रवृत्ति । कम्युनिष्ट पार्टी सिद्धान्त, विचार र विधिमा चल्ने पार्टी हो । कम्युनिष्टहरु भष्ट्रचारी, सांस्कृतिक विचलनकारी, चाडरक्सीवालालाई पटक्कै राम्रो मान्दैनन् । यी तीन कुरा स्विकार्ने कुनैपनि नेता, कार्यकर्ता कम्युनिष्ट बन्दै सक्दैनन् । पार्टीले आरोप प्रमाणित भए कठोर कारबाही गर्ने गर्छ ।

खै त आम नागरिकले बुझेको कम्युनिष्ट पार्टी ? सायद कम्युनिष्ट पार्टी यस्तो पार्टी बन्यो जसले भष्ट्रचारीलाई संरक्षण गर्यो । इतिहासमा यस्तो भद्दा मजाक सायद कतै चलेको छैन् होला । यहाँ चल्यो । ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टी र सरकारमा ।

कम्युनिष्ट पार्टीको नाम भजाउने तर आफ्नै नेता तथा कार्यकर्ताले भष्ट्रचार गर्दा संरक्षण गर्ने पार्टी नेपाली जनताले चाहेका होइनन् । श्रमजिवी, सर्वहारा वर्गको दुहाई दिएर चु्नाव जित्ने, सत्तामा पुगेर जनता विर्सिने काम गरेकै कारण अहिले देश अस्तव्यस्तताको शिकार बनेको छ । पार्टी भित्र भष्ट्रचार, अनियमिता, घुसखोरीको कुरा उठ्दा बैठक छाडेर भाग्ने, यी विषयमा छलफलै गर्न नरुचाउने प्रवृत्ति ओलीमा देखिएकै हो । दलाल पूजीवाद भन्ने तर आफै दलाल पुजीपतिको संरक्षणमा लाग्ने काम पनि कम्युनिष्ट पार्टीकै नेताबाट भयो ।

सिद्धान्त, विचार र वर्तमान कार्यक्रमको बारेमा कहिल्यै पार्टीमा बहस भएन । चुनाव चिह्नको ब्राण्डको अहमता, घमण्ड र दम्भ देखियो । देशैभर एमाले देख्ने तर आफ्नो कुकर्मबारे कहिल्यै नसोच्ने प्रवृत्ति हावी हुँदै ओली प्रवृत्तिमा रुपान्तरण भएको छ । भष्ट्रचारी नेता तथा कार्यकर्तालाई स्पष्टिकरणसम्म सोध्न नसक्ने पार्टीले देश र जनताको भलो गर्ला ? आजको यक्षप्रश्न यहाँ छ । आफ्ना आसेपासे, गुटिया र भजनमण्डलीले देखाउने मण्डले प्रवृत्तिबारे पार्टी र त्यसका नेताले कहिल्यै स्वमूल्याङ्कन गरेनन् । यतिसम्म की पार्टी फुटको पीडामा आम कार्यकर्ता पर्दा जन्मदिनमा कम्मर मर्काएर डान्स ओलीले गरे ।

व्यतिथिले सीमा नाघ्यो । सिंगो व्यवस्थामाथि प्रश्नै प्रश्न उठ्न थालेका छन् । सिंगो कम्युनिष्ट आन्दोलन बदनाम बन्यो । यसको चिन्ता ओली र उनका गुटका हुनमानेलाई कहिल्यै परेन् । नागरिकहरुले राजा भन्दा नेता खराब देख्न थालेका छन् । पञ्चायतले गरेको विकाससंगै अहिलेको स्थितिमा भएको विकासको तुलना गर्न छाडेका छन् । दलाल पुजीवादले सारा देशको नियम, कानुन किन्न थालेको छ । यस्तो बेला एमालेजनहरु सूर्य चिह्नको ब्राण्डमा मख्खिएका छन् । बारम्बार प्रश्न उठाउने सच्चा नागरिकलाई दुश्मन देख्न थालेका छन् । हिजोविहान चारैतिर राणै राणा, राजै राजा, पञ्चै पञ्च, कांग्रेसै कांग्रेस देखिएको हो । यिनीको अस्तित्व के भयो ? सारा भारतमा कांग्रेस आई मात्र देखिन्थ्यो । आज त्यो पार्टी कहाँ छ ? आँखै अगाडीको सत्य स्विकार्न गाह्रो हुने प्रवृत्ति पनि ओली प्रवृत्ति हो ।

एमालेको प्रथम विधान सम्मेलनमा अहिलेको विषमपरिस्थितिबारे निमर्म समिक्षा होला भन्ने चाहेका धेरै थिए । पार्टी फुट, सिंगो व्यवस्थामाथिको नैरश्यता, भष्ट्रचारको जालोको फैलावटबारे गम्भीर समिक्षा होला । सिंगो मुलुक समाजवादी कार्यक्रमले अगाडी बढाउने गरी एमाले अगाडी बढ्ला भन्ने सोच थियो । ती सोचहरु निरासामा परिणत भएका छन् । पानीका वोत्तल र चारैतिर बुख्याचाको रौनकताले जनताको बहुदलिय जनवादको सम्मान पक्कै भए होला । सिद्धान्त सिद्धान्तका लागि मात्र ठान्नेहरुका लागि चुनाव चिह्न र पार्टीको ब्राण्ड काफि नै छ ।

(अनुरागी नेकपा (एस) निकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा कपिलवस्तु अध्यक्ष हुन् ।)

लेखकबाट थप

‘भीम र घनश्यामहरु’ माथि अनुत्तरित प्रश्न !

नयाँ पुस्ता राजनीतिमा आउनुको विकल्प छैन्

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस