१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

के हो हात्तीपाइले रोग ? रोगबाट बच्ने तरिका



हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको नसर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् ।

लक्षण नदेखिने अवस्था

केही मानिसमा हात्तीपाइलेको संक्रमण भए पनि कुनै पनि किसिमको लक्षण देखिँदैन ।
संक्रमित मानिसको रगत नमुना रातिको समयमा लिएर परीक्षण गर्दा परजीवी देखिन सक्छ ।
सुजन भएको (सुन्निएको) शरीरको अंगमा भिडियो एक्स रे गरेर हेर्दा लिम्फ भेसेल (पत्र वा जालो) फैलिएको तथा वयस्क जुकाका झुप्पा देखिन सक्छन् ।

लक्षण देखिने अवस्था

शरीरका अगंमा सुजन हुनु, सामान्य अवस्थामा सुजन भएको अंगमा थिच्दा वा दबाउँदा थिचिने खालको हुन्छ । तर, हात्तीपाइलेको संक्रमण बढ्दै जाँदा छाला बाक्लो हुँदै गएपछि नथिचिने खालको
हुँदै जान्छ ।
– ठूलो खालको सुजन हुने ।
– छालामा पत्र–पत्र हुँदै जान्छ र गाँठागुँठी पलाउँछ ।
– सुन्निएको अंगमा मुसा पलाउन थाल्छ ।
– घाउ आउन थाल्छन् ।

हात्तीपाइले रोगबाट बच्ने तरिका
– सरकारले रोगप्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने औषधि अभियानमा सहभागी भई वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइलेको औषधि सेवन गर्नुपर्छ ।
– हात्तीपाइले रोगबाट बच्न दुई किसिमका औषधिको प्रयोग गर्नुपर्छ । डिएन्टाइल कार्बामाजाइन र अल्बेन्डाजोल औषधिको प्रयोग गर्नुपर्छ । जुन पूर्ण रूपमा सुरक्षित छन् ।

औषधि कसले नखाने ?

दुई वर्ष उमेर नपुगेका बच्चा ।
गर्भवती तथा सात दिन नपुगेका सुत्केरी ।
सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तोः क्यान्सरपीडित ।
मुटुरोगी, कलेजो तथा फोक्सोसँग सम्बन्धित रोग लागेका व्यक्ति, छारेरोगी तथा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन ।

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ८ : १२ बजे