५ चैत्र २०८०, सोमबार | Mon Mar 18 2024

कपिलवस्तुको जगदीशपुर ‘बर्ड स्याङचुरी घोषित’



मायादेवी अनलाइन, बाणगंगा ।
मानवनिर्मित जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्रालयले शनिबार एक कार्यक्रमको आयोजना गरि जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी घोषणा’ गरेको हो ।

शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्रायलले बर्ड स्याङचुरी घोषणा गर्नुपूर्व आवश्यक तयारी, कार्यविधि बनाएको थियो । बन तथा वातारण मन्त्री सुरेन्द्र हमालले मन्त्रीपरिषदमा बर्ड स्याङचुरी घोषणाका लागि प्रस्ताव लगेका थिए ।

सोही प्रस्ताव स्विकृति भएसंगै शनिबार प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, बन मन्त्री सुरेन्द्र हमाल लगायतका अन्य मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश सांसद, जनप्रतिनिधि लगायतको उपस्थितिमा जगदीशपुर तालमा एक कार्यक्रम गरि बर्ड स्याङचुरी घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले जगदीशपुर तालमा ऐतिहासिक र दुर्गामी काम भएको दाबी गरे । मानव निर्मित जगदीशपुर ताल ओझेलमा पर्दै आएको भन्दै अब यसको मुहार फेरिनेमा उनले विश्वास व्यक्त गरे । बर्ड स्याङचुरी घोषणा गर्दै जगदीशपुरको भाग्य चम्किएको दाबी गरेका मुख्यमन्त्री केसीले भने, ‘अब जगदीशपुर तालमा संसारभरका पर्यटक मात्र आउँदैनन्, पाहुना चरा पनि आउँछन् । यहाँ आउनेहरुलाई अर्कै संसारमा आएजस्तो गरि प्रदेशले विकास गरेर देखाउँछ ।’

दुनियाँको चिन्ता गर्ने धेरै हुने तर जीवन बदल्ने कामले मात्र भएको भन्दै जगदीशपुरको जीवन अब प्रदेशको बन मन्त्रालयले बदल्ने उनले ठोकुवा गरे । जगदीशपुर ताललाई पर्यापर्यटकीय हिसाबले विकास गर्न खोजिएको भन्दै ताल नेपालमा अनेकौं रहेको तर यसको महत्व अरुमा भेटाउन नसकिने उनले बताए ।

‘ताल त नेपालमा अनेकौं छन् । जगदीशपुर फेवा ताल, नैनी ताल जस्तो भए के अर्थ रहन्छ र ? चराहरुको ताल भएकै कारण यसको महत्व बढी हुन पुगेको हो । हामी यहीँ गर्ने गरि अगाडी बढेका छौं, मुख्यमत्री केसीले भने, ‘अब आन्तरिक रोजगारीका बाटाहरु मात्र यहाँ खुल्ने छैनन्, देशकै नमुना जगदीशपुर ताल बन्ने छ ।’

कार्यक्रममा बन तथा वातारण मन्त्री हमालले जगदीशपुर तालमा आगामी बर्ष धेरै परिवर्तन भएको देख्न सकिने गरि काम हुनेमा विश्वास दिलाए । मन्त्रालयले धेरै सुझबुझ गरि बर्ड स्याङचुरी घोषणा गरेको भन्दै यसले यहीँ क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्नेमा उनले जोड दिए ।

जगदीशपुर ताल अजीव अजीव चराहरुको घर हो । जहाँ उनीहरु चिसो छल्न आउने गर्छन् । यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु समेत आउने भएकोले यो आफैंमा अजीव चराहरुको घरको रुपमा विकास हुँदै गएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुड जस्ता लापोन्मुख चराहरु आउने गर्छन् ।

एक सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ जगदीशपुर ताल । नेपालीभन्दा बाहिरबाट धेरै चराहरु आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चराहरु आउने सिमसार क्षेत्रको रुपमा समेत चिनिने गर्छ । अहिले रहेका कूल १० सिमसार क्षेत्र मध्येको एक यसलाई सन् २००३ मा विश्व सिमसारको सूचीमा राखिएको थियो ।

यो तालमा एक सय १८ भन्दा बढी प्रजातिका चराहरु पाइने दाबी छ ।

‘बर्ड स्याङचुरी घोषणा’ कार्यक्रममा बेलुन उडाउँदै मुख्यमन्त्री कुल प्रसाद केसी, बन तथा वातारण मन्त्री सुरेन्द्र हमालसहित अन्य अतिथिहरु ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  ६ : ४८ बजे