कपिलवस्तु ।
बालविवाह अन्त्यको उद्देश्यले कपिलवस्तु नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रम मार्फत रणनीतिक योजना तथा परियोजना प्रगति समीक्षा गरिएको छ । नगरस्तरीय सरोकारवाला तथा हुरेक नेपालका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त समीक्षामा हालसम्मका गतिविधि, उपलब्धि र आगामी कार्य योजना बारे विस्तृत छलफल गरिएको थियो ।
हुरेक नेपालको आयोजना तथा युएनएफपिए, प्लान इन्टरनेशनल र कोइकाको सहयोगमा “ किशोरी र युवतीहरूका लागी सुरक्षित र सहयोगी वातावरण तथा बालविवाह अन्त्य परियोजना” अन्तर्गत सञ्चालित गतिविधिहरूले किशोरी तथा युवतीहरूको सशक्तीकरणमा प्रभावकारी भूमिका खेलेको हुरेक नेपालका फिल्ड अफिसर अनिल द्विवेदीले जानकारी गराउनु भएको थियो ।
परियोजनाले लैङ्गिक हिंसा तथा हानिकारक सामाजिक अभ्यासहरू, विशेषगरी बालविवाहको प्रतिकार्य गर्न युवती तथा किशोरीहरूको व्यक्तिगत तथा सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । साथै, मानवीय संकटका परिस्थितिमा समेत उनीहरूले आफ्नो यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारमा सहज पहुँच पाउन सकून् भन्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमका सहभागीहरूले बालविवाह अन्त्यका लागि समुदायस्तरमा अझै प्रभावकारी जनचेतना, विद्यालयस्तरीय सचेतना गतिविधि र स्थानीय संरचनाबीच समन्वय मजबुत गर्न आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।
कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बालविवाहमुक्त समाज निर्माणका लागि आफ्ना योजनाहरूलाई थप व्यवस्थित र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाएका छन् ।







प्रतिक्रिया