१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

एक बर्षमा ७ सय ३४ जना सर्पदंशका विरामी गोरुसिंगे आए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा एक बर्षको अवधिमा ७ सय ३४ जना सर्पदंशका विरामी भर्ना भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रमा ०७८ को साउन १ गते देखि ०७९ असार मसान्तसम्म उक्त संख्यामा विरामी भर्ना भएका हुन् ।

०६० सालमा नेपाली सेनाले स्थापना गरेको यो सर्पदंश उपचार केन्द्रमा पश्चिम नेपालका प्रायजसो विरामी आउने गरेका छन् ।

सर्पदंश उपचार केन्द्रका प्रमुख नविन केसीका अनुसार कपिलवस्तुसंगै रुपन्देही, दाङ, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र छिमेकी देश भारतबाटसम्म विरामी यहाँ आउने गरेका हुन् । दाङको भित्रि मधेसमा पर्ने घोराहीमा हालै मात्र सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको भएपनि यस क्षेत्रको अन्य स्थानमा उपचार केन्द्र छैन् ।

एकातिर उपचार केन्द्रको अभाव, अर्कोतिर पूर्व-पश्चिम राजमार्गमै उपचार केन्द्र रहेको कारण गोरुसिंगे सर्पले टोकेका विरामीको लागि गन्तव्यस्थान बनेको हो ।

विशेषगरी असार, साउन र भदौ महिनामा सर्पले टोकेका विरामीको संख्या अधिक हुने गरेको छ । एक बर्षको अवधिमा उपचार गर्न आए मध्ये एक जनाको मात्र यहाँ मृत्यु भएको उपचार केन्द्रका कार्यालय प्रमुख केसीले बताए ।

सर्पले टोकेपछि उपचारका लागि बाटोमा ल्याउँदै गर्दा १७ जनाको ज्यान गएको उनले बताए । यहाँ उपचार सम्भव नभए पछि १४ जना विरामीलाई बुटवल रेफर गरिएको उनले जनाए ।

उपचार केन्द्रमा आउने अधिकांश विरामीको उपचार भएपनि कुनै विरामी गम्भीर प्रकृतिको भए मात्र बुटवल पठाइने गरिएको छ ।

‘कतिपय विरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यहाँ भेन्टिलेटर छैन् । यस्ता विरामीलाई मात्र बुटवल रेफर गरिन्छ, अरु जस्ता सुकै विरामीको यहाँ उपचार हुन्छ ।’ केसीले भने ।

२९ दिनमा मात्र २ सय २६ सर्पदंशका विरामी उपचारका लागि आए
साउन लागेसंगै २ सय २६ जना सर्पदंशका विरामी उपचारका लागि यहाँ आएका छन् । साउन लागेसंगै सर्पको विगविगी बढ्दा विरामीको संख्यामा पनि अधिक मात्रामा वृद्धि भएको हो ।

कपिलवस्तुको शिवराज, कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाट सर्पले टोकेका सबैभन्दा बढी विरामी यहाँ आउँने गरेका छन् ।

छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, रोल्पा, दाङबाट यो एक महिनाको अवधिमा विरामी आएका छन् । उपचार केन्द्रमा आएका विरामी मध्ये कसैको ज्यान गएको छैन् । गम्भीर प्रकृतिका विरामीको समेत उपचार गरिएको केन्द्रले जनाएको छ ।

सर्पदंशका विरामी भाद्र महिनासम्म अझै बढ्ने केन्द्रका प्रमुख केसीले बताए ।

पहाडमा हरिउ, तराईमा गोभन र करेतको विगविगी

यहाँ उपचारका लागि आउने अधिकांश विरामी मध्ये गोभन र करेतको टोकाईका धेरै हुने गरेका छन् । तराईमा गोभन सर्पको विगविगी नै छ । गोभनको विष खतरनाक हुने गरेको पाइएको छ । कोही कोही गोभनको टोकाईबाट एकै घण्टामा मर्ने गरेको केन्द्रका प्राविधिक बताउँछन् । गोभनको विष शरीरमा तुरुन्तै फैलने हुँदा यसको असर तत्काल देखिने उनीहरु बताउँछन् ।

खासगरी गोभन सर्पले विहान र साँझपख काम गर्ने क्रममा टोक्ने गरेको घटना बढी देखिएको प्राविधिकको भनाई छ ।

गोभनले टोकेपछि रगतबाट विष प्रवाह छिटो हुन्छ र स्नायुसम्म यसले असर पुर्याउँछ । त्यसो हुँदा विरामीको ज्यान तत्काल जान सक्छ ।

गोभन पछि तराई क्षेत्रमा करेत सर्पको पनि विगविगी हुने गरेको छ । यसले विशेष गरी रातको समयमा टोक्ने गरेको छ ।

खुलम खुल्ला सुत्दा यसले धेरै टोक्ने गरेको पाइन्छ । तराईमा झुल टाँगेर नसुत्दा यसको जोखिम बढी हुने गर्छ । विशेषगरी खेतबारीको नजिक रहने घरमा यसको विगविगी बढी हुने गर्छ । मुसा भएको ठाउँमा पनि यसको विगविगी हुन्छ ।

यो सर्पको टोकाई गोभनको जस्तो तत्काल खतरनाक नभए पनि विरामी निको हुन धेरै समय लाग्छ । करेतले टोकेको केही घण्टा पश्चात मात्र यसको असर देखिन्छ । विस्तारै शरीरमा यसले विष छर्दै जाने र केही घण्टामा उपचार केन्द्रसम्म ल्याउन नसके ज्यान जाने खतरा हुन्छ । करेतले टोकेको विरामीको उपचार पनि तत्काल हुँदैन् । दुई दिनसम्म करेतका विरामीको उपचार गरेको अनुभव यहाँका प्राविधिक सामु छ । करेतको असर बढी भन्दा बढी रगतमा पर्ने गर्छ ।

पहाडी जिल्लाका अधिकांश विरामी भने हरिउ सर्पको टोकाईका हुने गरेका छन् । हरिउ सर्पको विगविगी पहाडमा बढी हुने गरेको छ । यो सर्पले टोके पछि विरामीको लक्षण सुनिने खालको हुन्छ । विस्तारै शरीरमा यसको असर देखिन थाल्छ । सर्पले टोके तुरुन्त उपचार केन्द्रसम्म जानुपर्ने हुन्छ ।

बुद्धभूमि नगरपालिकाबाट निरन्तर सहयोग

पश्चिम नेपालमा कुनै पनि सर्पदंशको उपचार केन्द्र नहुँदा गोरुसिंगेमा रहेको नेपाली सेनाको पहलमा ०६० साल देखि उपचार थालिएको हो ।

नेपाली सेनाले प्रतिक्षालयबाट थालेको उपचार केन्द्र हाल गोरुसिंगे लगायत कपिलवस्तुबासीको अथक प्रयास र विभिन्न क्षेत्रको आर्थिक सहयोगबाट एक तले पक्की भवन बनेको छ । ०७४ सालमा बनेको भवनबाट हाल सर्पदंशका विरामीको उपचार गरिदैँ आइएको छ ।

उपचार केन्द्रलाई बुद्धभूमि नगरपालिकाको सक्दो सहयोग रहदै आएको छ । नगरपालिकाले एक जना स्थायी कर्मचारीको बन्दोबस्त गरेको छ भने विभिन्न आर्थिक र भौतिक सहयोग गर्दै आएको छ ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले सर्पदंशका विरामीको अकालको ज्यान नजाओस् भन्नका लागि विभिन्न सहयोग गर्दै आएका छन् ।

मेयर श्रेष्ठले उपचार केन्द्रलाई थप व्यवस्थित पार्न छिमेकी पालिकाबाट सहयोगको लागि वातावरण सिर्जना गरिदिए पछि केन्द्र सञ्चालनका लागि झनै सहज भएको छ ।

उपचार केन्द्रमा गोरुसिंगेस्थित नेपाली सेनाले प्राविधिक सहयोग गर्दै आएको छ । शम्शेर गण दलबाट खटिएका नेपाली सेनाका दिलिप घलेले उपचार केन्द्रमा प्राविधिक सहयोग गर्दै आएका छन् ।

उपचार केन्द्रमा सर्पले टोकेका जस्ता सुकै विरामीको उपचार गर्दै आएको घले बताउँछन् ।

सर्पले टोकीहाले कसरी गर्ने प्राथमिक उपचार

सर्वप्रथम त सर्पले टोकेको हो या होइन भनेर जान्न जरुरी हुन्छ । यदि टोकेको शंका लागेको ठाउँमा स–साना दुइटा घाउहरु छन् भने त्यो सर्पले टोकेको हुनसक्छ । सर्पले टोकेको थाह पाएमा सकेसम्म सर्पलाई चिन्ने प्रयास गर्नुपर्छ । प्रायः करेत, गोमन, हरिउ लगायत जानिने सर्पहरु बढी भेटिने गर्छन् ।

सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ । टोकेको भागलाई धेरै चलाउदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकाले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ । हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ ।

गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेशर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ । यसलाई प्रेशर इमोबिलाइजेसन विधि भनिन्छ । तर एकै ठाउँमा एकदमै कसेर बाँध्नु हुँदैन । कसेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसञ्चार पूरै बन्द हुन जान्छ र उक्त भाग मरेर खेर जानसक्ने हुन्छ ।

विषका लक्षणहरु कम नभएसम्म वा प्रतिविषको प्रयोग सुरु नभएसम्म त्यो प्रेशर ब्यान्डेज खोल्नुहुँदैन । सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसो गर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ ।

केन्द्रका प्रमुख केसीका अनुसार सर्पले टोकेपछि अधिकांश विरामी आत्तिने गर्छन् । जसले गर्दा विरामीको ज्यान जाने बढी खतरा हुन्छ । विरामीलाई सर्पले टोकि हाले सान्त्वना दिने काम गर्नु पर्छ । कपितयको प्रेसर आई हुँदा हृदयघात हुने गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९ मंगलबार ००:००  ६ : २९ बजे