१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा सडक क्रान्ति



दीपा महत, बाणगंगा ।
केही बर्षको अन्तरालमा कपिलवस्तु भौतिक विकास तर्फ अब्बल देखिएको छ । दोस्रो संविधान सभाको निर्वाचन २०७० सम्म खासै भौतिक विकास नभएको कपिलवस्तुमा ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्मुखमा आइपुग्दा भौतिक विकासमा द्रुत प्रगति देखिएको हो ।

विशेष गरी जिल्लामा सडक निर्माणको क्षेत्रमा क्रान्ति नै भएको देखिन्छ । जिल्लाका लगभग ठूला सडक बनिसकेका छन् । स–साना सडकखण्डमा उस्तै प्रगति देखिन्छ भने पछिल्लो समय बस्ति विकास भएका मुल सडक देखि घरसम्म पुग्ने अधिकांश सडक ग्राभेल भएका छन् ।

संघीयता आएसंगै जिल्लाबासीले विकासको प्रत्यक्ष अनुभूति गरेका छन् । विगतका सिंगल लेनका सडक डबल लेन भएका छन् भने ग्राभेल सडकलाई पक्की बनाइएको छ ।

बाणगंगा नगरपालिका वडा नं. ११ का ओदारीका सुखराम चौधरीले हिजो धुलाम्मे र हिलाम्मे सडक अहिले पक्की भएको देख्दा आफू दंग पर्ने गरेको बताउँछन् ।

‘विगतको विकास र संघीयता आएपछिको विकासमा निकै फरक पाइएको छ, चौधरी थप्छन्, सडक सन्जालमा क्रान्ति नै भएको छ भन्न सकिन्छ ।’

जिल्लामा ०७० यता दुरगामी महत्व राख्ने दर्जनौं सडक निर्माण भएका छन् । दशकौ देखि चर्चामा आएको हुलाकी सडक यो बीचमा बनेको छ । तौलिहवा देखि बहादुरगन्ज जोड्ने यो सडकमा ७ किलोमिटर बाहेक अरु पक्की भइसकेको छ । ७ किलोमिटरमा कालोपत्रे हुने गरी काम जारी छ । दक्षिणी तराईको मुटु मानिएको यो सडकले पर्यटन र आर्थिक क्षेत्रमा उचित महत्व राख्छ ।

कृष्णनगर नाका हुँदै नेपाल भित्रने पर्यटकलाई यो सडक हुँदै सिधै लुम्बिनी, तिलौराकोट आउन सहज हुनेछ । महाराजगन्ज, कृष्णनगरमा उत्पादित कृषियोग्य सामग्री सिधै जिल्ला सदरमुकाम ल्याउन पाइने भएको छ ।

लुम्बिनी-तौलिहवा जोड्ने महत्वपूर्ण सडक डबल लेनको बनेको छ । विगतमा सिंगल लेनको सडक हुँदा ट्राफिक जामको समस्या मात्र थिएन साँघुरो सडकले दुर्घटना निम्त्याएको थियो ।

दशकौ देखि ट्रयाक खोले पनि पक्की हुन नसकेको बाणगंगा नगरपालिका वडा नं. २ लगनचोक देखि शुद्धोधन गाउँपालिकाको लवनी जोड्ने महत्वपूर्ण सडक पनि कालोपत्रे भइसकेको छ । पटना हुँदै लवनी जाने यो सडकले लुम्बिनीसंगको सिधा सम्पर्क जोड्छ ।

पूर्व-पश्चिम राजमार्गबाट सिधा दक्षिण जोडिने यो सडक लखनचोक देखि पतरियाको सोहसासम्म पक्की बनेको छ । संघ र प्रदेश सरकारको संयुक्त लगानीमा यो सडक ०७४ पछाडी सम्पन्न भएको हो ।

जितपुर–तौलिहवा सडकखण्ड पनि डबल लेनको बनेको छ । बुद्धस्थलले भरिपूर्ण कपिलवस्तुका बुद्ध सम्पदालाई जोड्ने रिङरोड बनेको छ । तिलौराकोट, अशोकस्तम्भ, जगदीशपुर, कुदानसम्म रिङ रोड बनाइएको हो ।

बर्षौ देखि चर्चामा आएको बनगाई-डोहोटे सडकखण्ड अन्तर्गत भलवाडसम्म सडक पक्की बनेको छ । धुलाम्मे र हिलाम्मेको बर्षौ देखि मारमा परेका भलवाडबासी सडक कालोपत्रे भइसंगै खुसी भएका छन् ।

भलवाडका स्थानीय पत्रकार बाबुराम रायमाझीले सडक पक्की भएसंगै भलवाडका जनता खुसी भएको बताउँछन् । ०४८ देखि ०७४ सालको अगाडीसम्मका निर्वाचनमा यो सडकखण्डको चर्चा उठेपनि हालै सडक पक्की भएको उनले बताए ।

गोरुसिंगे–सन्धिखर्क सडकखण्ड अन्तर्गत कपिलवस्तु भित्र पर्ने सडक डबल लेन भएको छ । गोरुसिंगे देखि पथ्थरकोटसम्मको ११ किलोमिटर सडक डबल लेनको भएको हो ।

जिल्लाको पश्चिमी क्षेत्रको कृष्णनगर-शिवगढी जोड्ने आरटिओ सडक पनि पक्की भएको छ । बर्षौसम्म त्यस क्षेत्रका सर्वसाधारण कच्ची सडकमा यात्रा गर्दै आएका थिए । कृष्णनगरसंग सिधा जोडिएको यो सडक सिंगो विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकाका केही वडा र शिवराज नगरपालिकाको वडा नं. ९ को प्रमुख सडकखण्ड हो ।

०७४ पछाडी नै यो सडक बन्न सुरु गरेको हो । चन्द्रौटा–चारनम्बर–भटेनी सडक पनि पक्की बनेको छ । पूर्व-पश्चिम राजमार्गसम्म जोडिएको यो सडकले दुरगामी महत्व राख्छ । शिवराज नगरपालिका र विजयनगर गाउँपालिकासंग सिधा जोडिएको यो सडक निर्माणमा बर्षौ चर्चा भएर हालै बनेको हो ।

कोइली बनगाई देखि तिलौराकोटसंग सिधा सम्पर्क हुने यो सडकखण्ड पनि डबल लेनमा निर्माण भएको छ । यो पनि जिल्लाको अति महत्वपूर्ण सडक सन्जाल हो ।

खरेन्द्रपुर देखि महाराजगन्ज जोड्ने सडक पनि डबल लेन बनेको छ । हल्लानगर हुँदै–शिवगढीको सुन्दरीडाँडा जोड्ने सडक पनि डबल लेनमा निर्माण भएको छ ।

देशकै प्रमुख व्यापारिक गन्तव्य रहेको चन्द्रौटा–कृष्णनगर सडकखण्ड फोर लेनको बनेको छ ।

हाल डुमरा-महाराजगन्ज सडक सिंगल लेनबाट डबल लेन बनाउने काम जारी छ भने तौलिहवा–बुड्ढी–टिक्कर सडकखण्डको डिपिआर बनेर टिक्कर हुँदै सडक कालोपत्रे काम भइरहेको छ । बुद्धभूमि नगरपालिकाले यो सडकलाई नगर गौरबको योजनामा राखेको छ ।

सुरुमा सिंगल लेनमा रहेको सडक हाल डबल लेन बन्न थालेको हो । बुद्धभूमि नगरपालिकासंग यो सडक सिधा सदरमुकाम तौलिहवासंग जोडिन्छ । जिल्लाको पश्चिमी क्षेत्रका सर्वसाधारणलाई तौलिहवा जान यो सडक उपयुक्त छ ।

तीन प्रतिनिधि सभा, ६ प्रदेश सभा, १० स्थानीय तह रहेको जिल्लामा सडकसंगै ठूला ठूला पुल पनि बनेका छन् । कतिपय सहायक सडकका पुल बनाउने क्रम जारी भए पनि अधिकांश ठूला पुलहरु बनेका छन् ।

केही बर्षमा सडक निर्माणमा क्रान्ति आए पनि सडकको गुणस्तरीयतामा भने जिल्लाबासीले प्रश्न उठाउँदै आएका छन् ।

सडक कमसल बनाउँदा केही बर्षमै भत्किने गरेको भन्दै सम्बन्धित निकायले पटक पटक अनुगमन गर्नुपर्नेमा कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकराम घिमिरेले जोड दिन्छन् ।

जिल्लामा सडक सन्जालको क्षेत्रमा क्रान्ति भएपनि शिक्षा, स्वास्थ्य, सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति भएको भने पाइदैन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ३ : ३७ बजे