२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023

जापानको अनुभव : समय, मेहनत र कामको सम्मान



हरेक वर्षको अप्रिल र मे महिनामा काठमाण्डौ ‘ज्याकरान्डा’ का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरू साकुराले ढकमक्क हुने समय हो । ढकमक्क साकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्यौँ । यद्यपि जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले झन्डै १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो ।

हाम्रा लागि जापान घुम्न पाउनु अवसर थियो र यो अवसर जापान सरकारको परराष्ट्र मन्त्रालयको जापान इन्टरनेशनल को–अपरेशन सेन्टरले जुराइदिएको थियो । ‘जापान फ्रेन्डशिप टाइज प्रोग्राम’ अन्तर्गत फेब्रुअरी २२ देखि २८ सम्म सञ्चालित जेनेसिस ‘जापान–इस्ट एसिया नेटवर्क अफ एक्सचेन्ज फर स्टुडेन्ट एन्ड युथ’ कार्यक्रममा भाग लिन नेपालसहित पाकिस्तान, भुटान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट ३० जना विद्यार्थी र ३० जना ‘वर्किङ युथ’ गरी ६० जना सहभागी थियौँ ।

कार्यक्रमको उद्देश्य थियो– जापानको संस्कृति, परम्परा, रहनसहन र विकासलाई निजकबाट नियाल्नु । यस पटकको यो कार्यक्रमलाई ‘ऊर्जा’ क्षेत्रमा केन्द्रित गरिएको थियो । यद्यपि जापानले गरेको विकास, इतिहास, परम्परा, संस्कृति तथा साक्षात्कारलाई पनि कार्यक्रममा केन्द्रित गरिएको थियो । यस अर्थमा हामीले जापान बसाइमा ऊर्जा क्षेत्रका साथै विभिन्न पक्षबारे जानकारी र अनुभव बटुल्दै थियौँ ।

नेपालबाट प्रतिनिधित्व गर्ने १० जना नारिता विमानस्थलबाट प्रक्रिया पूरा गरी बाहिर निस्किँदै गर्दा पाकिस्तानबाट आएका साथीहरू र ‘जाइस’ का दुई जना कर्मचारीले हामीलाई पर्खिरहनुभएको थियो । कराँचीबाट दुबई हुँदै नारिता पुगेका पाकिस्तानका साथीहरूले भने हामीभन्दा आधा घण्टाअघि नै विमानस्थलको प्रक्रिया पूरा गरिसकेका थिए ।

उसो त श्रीलङ्कन साथीहरू त्यही दिन बिहान होटल पुगेर टोकियो टावर घुम्न भ्याइसकेका थिए । हामीभन्दा पछि बङ्गलादेश र माल्दिभ्सबाट साथी आइपुगे भने भोलिपल्ट बिहानमात्रै भुटानका साथीहरू टोकियो अवतरण गरे ।

छ देशका ६० जना सबैका लागि यो पहिलो जापान भ्रमण थियो । भोलिपल्ट ब्रेकफास्टपछिको झन्डै एक घण्टा अन्य देशका केही साथीहरूसँग परिचय गर्दै सहर नियाल्ने मौका मिल्यो । सँगसँगै बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरि साइकल कुदाउने र जेब्राक्रसिङमा छिटोछिटो हिँड्दै गन्तव्य छोट्याउँदै गरेका जापानीहरूलाई हेर्दै हामीले पहिलो बिहानीमा झन्डै आधा घण्टा पैदलै हिँडेर सहर नियाल्यौँ । चिटिक्क सफा र कोलाहलमुक्त सहरमा एकनाश ठडिएका गगनचुम्बी भवन, सफा र शान्त सहरलाई पृष्ठभूमिमा राखेर सम्झना स्वरूप केही थान तस्बिर पनि लियौँ ।

प्यासिफिक समुद्र किनारको ‘कावासाकी इको म्युजियम’ पुग्दा नौलो लाग्यो । जहाँ विद्यार्थीका विभिन्न सिर्जनामार्फत पर्यावरण र ऊर्जाबारे केही जानकारी लियौँ । साथै छेवैमा रहेको सोलार प्लान्ट अवलोकन गर्ने अवसर पनि मिल्यो । जहाँ ३८ हजार सोलार प्यानल जडान गरी ८७ लाख ४० हजार किलोवाट आवर ऊर्जा उत्पादन भइरहेको थियो । यसरी उत्पादन भइरहेको ऊर्जा जापानका दुई हजार आठ सय घरधुरीमा खपत हुने गरेको रहेछ ।

जापान बसाइका क्रममा हामीले विश्वविद्यालयका विभिन्न प्राध्यापकबाट जापानले भोगिसकेको ऊर्जाको समस्या र समाधानका लागि चालिएका विभिन्न प्रयासबारे जान्ने मौका पायौँ । सन् २०११ को भूकम्पका कारण फुकुशिमा न्युक्लियर प्लान्ट बन्द भएपछि जापानले ऊर्जा स्रोतमा नयाँ विकल्पमा योजना बनाइरहेको रहेछ । ‘लो कार्बन बिल्डिङ’ लाई प्रोत्साहन दिनुका साथै सन् २०५० सम्ममा ग्रीन हाउस ग्यास उत्सर्जन ८० प्रतिशतले घटाउने उद्देश्यले लिएको ‘नेट जिरो २०५०’ सम्बन्धी जान्ने मौका पायौँ ।

जापान बसाइका क्रममा बकेट लिस्टमा बुलेट रेल नहुने कुरै भएन । टोकियोदेखि नागोयासम्म पुग्दा र फर्कँदा ‘सिङ्काशेन बुलेट रेल’ मा यात्रा गर्ने अवसर जुर्‍यो । कुल दुई सय ६५ किलोमिटरको दूरी डेढ घण्टाभन्दा कम समयमै तय गर्दै जापानको ग्रामीण क्षेत्रमा काठबाट निर्मित स–साना घरले भरिएका सुन्दर गाउँ र ‘माउन्ट फुजी’ को अवलोकन गर्ने अवसर पनि पायौँ ।

यातायातको साधनका रूपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको भूमिकाबारे पनि हामीलाई जानकारी गराइयो । धेरैजसो व्यक्ति सकेसम्म साइकल नै चलाउने रहेछन् । स्वस्थ खाना, शारीरिक व्यायाम, उच्च गुणस्तरयुक्त जीवनशैलीकै कारण जापानीजहरूको औसत उमेर संसारमै सबैभन्दा राम्रो भएको रहेछ भन्ने बुझ्न गाह्रो भएन ।

हाम्रो बसाइभर हामीलाई निरन्तर साथ दिनुभएकी एक पथप्रदर्शक (गाइड) का अनुसार जापानका मुख्य सहरमा निजी गाडी निकै कमले चढ्ने रहेछन् । धेरैका लागि सार्वजनिक गाडी भरपर्दो माध्यम रहेछ । जापानमा औसतमा ६० प्रतिशतले निजी गाडी चढ्दै गर्दा टोकियोको हकमा भने जम्मा ३७ प्रतिशत रहेछ । हामीलाई के लागेको थियो भने टोयोटा, होन्डा, निसान, माज्दा लगायतका गाडी उत्पादक देशमा पनि सबैसँग कार हुनैपर्ने हो । तर बस, ट्याक्सी र मेट्रो रेलजस्ता सार्वजनिक गाडीको उच्च गुणस्तरयुक्त सुविधाका कारण निजी गाडी प्रयोग गर्ने टोकियोजस्ता सहरमा कम हुँदै गएको रहेछ । यद्यपि सहरमा जस्तै सार्वजनिक गाडीको सुविधा नभएका ग्रामीण क्षेत्रमा भने निजी कार हुनु अत्यावश्यक मानिँदो रहेछ ।

भ्रमण अवधिमा टोकियो र नागोयामा रोयल प्यासेस हेर्ने मौका पायौँ । नागोयामा इलेक्ट्रिकल म्युजियमदेखि सोउ शपिङ स्ट्रिटको टर्किस कबाबको स्वाद जिब्रोमा अझै पनि बाँकी छ । दिनभरको कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि मात्रै ‘फ्री टाइम’ मिल्थ्यो । तर नागोयामा रहँदा फ्री टाइमलाई पूर्णरूपमा उपयोग गर्न पाएनौँ । किनभने यति ठूलो सहर पनि राति ७ नबज्दै सुत्दो रहेछ ।

हामीलाई यति ठूलो सहर किन यति छिट्टै बन्द भएको होला भन्ने लागेको थिएन । सडकमा निकै कम मान्छे हिँड्ने रहेछन् ।’सब–वे’ र ‘मेट्रो स्टेशन’ वरपर भने मान्छेको अचाक्ली देखिने भिड राति १० बजेपछि भने पातलिँदै जाने रहेछ । दैनिक औसत २४ लाख मानिसले हिँड्ने सिबुया क्रसिङमा पनि राति १० बजेपछि कम हुँदै गएको देख्ने मौका मिल्यो । शपिङ मल पनि ८ बजेदेखि १० बजेसम्म लगभग बन्द भइसक्ने रहेछन् ।

नागोया छँदा ‘जेडीएस’ छात्रवृत्ति (प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरशिप) अन्तर्गतका विद्यार्थीसँग साक्षात्कार गर्ने अवसर मिल्यो । जापान सरकारले स्नातकोत्तर तहमा यस प्रकारको छात्रवृत्ति उपलब्ध गराउने रहेछ । सार्क राष्ट्रका हामीलाई सहज होस् भनेर होला धेरैजसो नेपाली र इन्डियन खाना पाइने होटल नै उपलब्ध गराइएको थियो । केही छाक जापानिज खाना खाए पनि पेट भने बिरयानी, रोटी, नान र दालले नै भरियो । रमाइलो कुरा त के भने टोकियो र नागोयाका जति पनि रेष्टुराँ र मार्ट पुग्यौँ नेपाली नभेटिने कुनै ठाउँ रहेनछ ।

जापान पुगेपछि टोकियोको चार सय ५० मिटर अग्लो ‘स्काई ट्री’ नघुमी फर्कने कुरै भएन । अझ होटलको कोठाबाट चिटिक्क परेको फ्रेम झैँ आँखै अगाडि देखिएपछि त्यहाँ जाने रहर झनै थपिएको थियो । यो रहर पनि जापान पुगेको पर्सिपल्ट पूरा भयो । दिनभरको कार्यक्रम डिनरसँगै पूरा हुन्थ्यो र निवासका लागि होटलतिर लाग्थ्यौँ । एक दिन त रात छिप्पिँदै गर्दा जापानमै बस्ने चन्द्र दाइसँग ट्याक्सी चढेर स्काई ट्री पुग्यौँ । दुई हजार तीन सय येनको टिकट काटेर तीन सय ५० मिटरमाथि पुगेर झिलिमिली टोकियो हेर्ने रहर पनि पूरा भयो । पाकिस्तानका साथीहरू भने त्यही दिन चार किलोमिटरको पैदल यात्रामा स्काई ट्रीलाई नजिकबाट हेर्ने रहर पूरा गरेछन् ।

जापानमा नोटको साटो सिक्काको प्रचलन धेरै हुने रहेछ । एक हजारभन्दा कमको नोट नहुने भएकाले सिक्का प्रचलन गर्नुको विकल्प नै रहेनछ । तर अहिले भने विद्युतीय भुक्तानीको प्रयोग अत्यधिक भएको रहेछ ।

जापान पुगेपछि जानैपर्ने सूचीमा ‘हाचीको पार्क’ पनि थियो । सन् २००९ मा रिचार्ड गेरको चलिचित्र ‘हाचीको, अ डग डेल’ हेरेपछि त्यो बेलादेखिको घुम्ने रहर झन्डै एक दशकपछि पूरा हुँदै थियो । त्यसैले जापान बसाइको अघिल्लो रात मेट्रो चढेर हाचीकोको स्ट्याचु हेर्न पुगेँ । केही शपिङ कम्प्लेक्स घुमियो भने पार्कमा बसेर धेरैबरे गफ गर्ने रहर पनि पूरा गरियो ।

एक हप्ता लामो बसाइमा जापानीहरूको अनुशासन देखेर भने सबै दङ्गै परियो । विनम्रसँग बोल्ने, कत्ति पनि हल्ला नगर्ने र अरूलाई असाध्यै सम्मान गर्ने उनीहरूको चर्चा अन्तिम दिन प्रस्तुतिका क्रममा सबैले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम सकिँदै गर्दा छ वटै देशका राजदूतावासबाट आउनुभएका प्रतिनिधिसँग हाम्रा अनुभव साट्दै टुङ्ग्यायौँ । उहाँहरूसँग साक्षात्कार पनि भयो । झन्डै १० दिनको बसाइ हाम्रा लागि अविस्मरणीय रह्यो । सार्क राष्ट्रका साथीसँग नयाँ सम्बन्ध स्थापना गर्नेदेखि जापानले गरेको विकास, यहाँको संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । यस सङ्क्षिप्त मधुरस्मृतिमा जापान बसाइको अनुभव उतारे पनि यस क्रममा हामीले सङ्कलन गरेको अनुभव भने दीर्घकालसम्म रहनेछ । यो छोटै समयको बसाइबाट मैले भने जापानबाट समय, मेहनत र कामप्रतिको सम्मानको गहिरो अनुभव लिएर फर्किएँ ।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ५ : १३ बजे