१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक



अर्घाखाँची ।
पश्चिम पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा ‘वाख्खै–वाख्खै, हो’ भन्दै नाच भइरहेको छ । खुँडा, भाला, तरबार, ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।

पश्चिम अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पालगायतका जिल्लामा कोट, दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व छ । यी जिल्लाहरूमा दशैंको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् । सराय नाचले सबैतिर रौनकता बढाएको छ । दशैं मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्नेको यतिबेला भीड हुने गर्छ ।

गुल्मी, अर्घाखाँची पहाडी जिल्लाबाट तराइमा बसाइसराई गरेकाले पनि आफ्नो ठाउँ कपिलवस्तु, दाङ र रुपन्देहीमा सराय नाच हुने गर्छ ।

किंवदन्तीअनुसार अर्घाखाँचीको खाँचीकोट दरवारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो । त्यसबेलादेखि खाँचीकोट दरबारलाई विशेष महत्त्वको रुपमा हेर्न थालिएको थियो । चन्द्रावतीले मावतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता रहेको स्थानीय एवं पूर्ववडाध्यक्ष प्रितम थापाले बताए । यसैका कारण खाँचीकोट दरबारलाई महत्त्वको रुपमा लिइने र त्रयोदशीका दिन सराय नाच विशेष हुने उनले बताए । सराय यस क्षेत्रको मौलिक नाच भएको उनले बताए ।

दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सव स्वरुप सरायजात्रा गरिँदै आएको कालिका मन्दिरका पुजारी टामलाल भट्टराइले बताए । अर्घाखाँचीको अर्घादरबारमा यसक्षेत्रकै ऐतिहासिक सराय जात्रा नै लाग्छ । यहाँ पूर्णिमाको दिन सराय नाच हुन्छ । अर्घाभगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाचको छुट्टै महत्त्व र इतिहास रहेको छ । कोतहरूमा पशुबली पनि दिने गरिन्छ ।

शक्तिपीठका मन्दिर प्रायः पहाडका अग्ला चुचुरोका छन् । अग्ला डाँडाका दुर्गा भगवतीका मन्दिरमा सराय नाच हेर्न विदेशी पर्यटक पनि आउने गर्छन् । संस्कृतविद् डा. गोविन्द टण्डनका अनुसार राक्षसी प्रवृत्तिमाथि दैवीशक्तिको विजयोत्सव स्वरुप सराय नाच शुरु भएको हो । देवीले महिषासुरको वध गरेपछि त्यसलाई विजय प्रतिक मानेर देवीको गुणगान गाउँदै सराय नाच नाच्न थालिएको हो ।

बाइसे–चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ । सराय नाच्न र मन्दिरमा दर्शन गर्न अधिकांश मानिसहरू घरमा ढोका लगाएरै जाने गर्छन् । यसरी मन्दिरमा जाने दर्शनार्थीहरू बिहानै नुहाएर टपरीमा फूलपाती लिएर मन्दिरमा भेटीसहित चढाउने परम्परा रहेको छ । हतियार नचाएर सराय नाचप्रति युवाको आकर्षण बढ्दो रहेको शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले बताए । संस्कृति, मौलिकता संरक्षणका गर्न आफूहरू लागेको उनले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८० शुक्रबार ००:००  ४ : ४१ बजे