५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

पाणिनि तपोभूमिमा सम्मेलनकाे तयारी ‘संस्कृति र प्रकृति’ फाेकस



वाणगंगा।
लुम्विनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषदको आयोजनामा आइतवार पाणिनि सम्मेलन तयारीको सम्वन्धमा बुटवलमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । पाणिनि संस्कृत भाषाको प्रसिद्ध व्याकरणको उद्गमस्थल भएकोले यसको संरक्षण र विकास गर्नसके धार्मिक पर्यटक भित्र्याई आर्थिक उपार्जन गर्न सकिने कुरामा सहभागीहरुले जोड दिएका छन् । पर्यटनको आधार संस्कृति र प्रकृति हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रदेश सरकारले पाणिनि सम्मेलनको तयारी गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरले बताए । लुम्विनी प्रदेशमा रहेका सम्पदासँग स्थानीयलाई कसरी जोड्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न खोजिएको उनले बताए । ‘यति ठूलो सम्पदालाई हामीले चिनाउन सकेनौं, रेसुङ्गालाई पनि त्यति उचाइमा लैजान सकिएन । यिनीहरु साधकहरुले साधना गर्ने थलोको रुपमा विकास गर्नुपर्ने थियो । यसलाई भविष्यमा कस्तो रुपमा लैजाने भन्ने कुरालाई यो सम्मेलने आधार तयार गर्नुपर्छ । पूर्वीय दर्शनको उपयोगिता आत्मिक, आध्यात्मिकलाई जोड्नुपर्दछ’ ।
कार्यक्रममा १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पाणिनि तपोभूमिको महिमा निकै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैको सहयोग जरुरी हुने बताए । प्रकृतिसँग विरोधाभास नहुने गरी संरचना निर्माण गर्नुपनेमा उनले जोड दिए । उनले पाणिनिको वारेमा पुस्तिका तयार गरेर देश विदेशमा प्रचार गर्न सुझाव दिए । इतिहासवारे कलम चलाउने काम विद्वानहरुले निर्धक्कसाथ लेख्नुपर्ने भन्दै स्वामी सरस्वतीले पाणिनिको महत्व उजागर गर्न ढिला गर्न नहुने धारणा राखे । ’पाणिनिको सम्मानका लागि पनि म सो ठाउँमा गएको हुँ, प्रयागराजबाट उनी यहाँ आएर तपस्या गरेको कुरा आएको छ, यसलाई लिपिवद्ध गर्ने हो, कुटी बनाएर साधनास्थल वनाउन सकिए विदेशबाट पनि यहाँ आउन सक्छन् । उनले भने–‘ भोजनालय चाहियो । आवासको व्यवस्था र मन्दिर पनि राम्रो चाहिन्छ । जसको डीपीआर बनेको छ । प्रकृतिसँग विरोधाभास नहुने गरी बनाउने हो, गुरुकुल चाहियो जहाँ लघुसिद्वान्त पढ्ने हुनुपर्छ । यो नपढेसम्म पाणिनिवारे बुझ्न सकिदैन ।’ भारतका धेरै योगीले नेपाल आएर सिद्वि प्राप्त गरेका छन् । मोदी पनि यही आएर साधना गरे । वेदान्त विद्या पनि त्यहीबाट विकास भएको हो । ख्यातिप्राप्त शन्तहरु मैले बोलाउँछु, ५ जनाको संयोजन समिति बनाएर सम्मेलन नै गरौं, हामीले दावी पनि गर्नुपर्छ ।’ उनले भने–‘इतिहासवारे कलम चलाउने काम बिद्वानहरुले गरेनन् । अल्छी गरेका छन् । शालिग्रराम, पाणिनि, कालिगण्डकी साझा हुन् । लेख्नेले निर्धक्कसाथ लेख्नुपर्याे । भारतले हेप्छ । सम्मेलनले एकखालको वातावरण वनाउने छ । त्यसेका लागि सम्मेलन हो ।’
वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले त्यहाँ पुगेर पाणिनिको सूत्र पढेर जान्ने हुनसक्ने वातावरण तयार गर्नुपर्ने बताए । ‘विश्वकै विशेषता भएको स्थल र विश्वकै तपस्थल हो, संसारका कुनै भाषा त्यति उत्कृष्ट छैनन् जति सस्कृत छ । त्यस्तो स्थानलाई हामीले योजना बनाएर प्रचार गरौं’ उनले भने ।
वातावरणविद् युवराज कंडेंलले पाणिनिलाई चिनाउन जरुरी भएको र यहाँ गुरुकुल शिक्षा चलाउन सकिने बताए । ‘भौतिक संरचना भन्दा आध्यात्मिक केन्द्र बनाउनुपर्छ, तथ्यको उत्खनन् गरिनुपर्छ । वैदिक सभ्यता देखिनुपर्छ । पानीका मुहान सुक्दै गएका छन् यसमा ध्यान जाओस्’ उनले भने ।
पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले विश्वकै विशेषता भएको स्थलको संरक्षणका लागि सम्मेलनमार्फत दीर्घकालीन गुरुयोजना बनाउनका लागि सहज हुने धारणा राखे । यसका लागि पालिकाको पूरै टिम यो अभियानमा जुटेको समेत उनले बताए । पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीले धार्मिक सर्किट वनाउने मुख्यमन्त्रीको योजना रहेको बताउँदै रिडी, स्वर्गद्वारी, पाणिनि आदि जोडेर सर्किट बनाउनु जरुरी रहेको खुलासा गरे । ‘पर्यटनको माहोल फेरिएको छ । वर्दियामा टाइगर टप्समा शान्तिका लागि आउँछन्, दैनिक ६० हजार तिर्छन् । उनीहरु मोवाइल वन्द गरेर वस्छन् । पाणिनिजस्तो ठाउँ त्यसका लागि कति उपयोगी होला ?’ उनले भने । सो क्षेत्रको भूगोल र इतिहासका बारेमा कलम चलाइरहेका पत्रकार डी.आर. घिमिरेले पाणिनिका रचनाहरु र भाषासम्वन्धी पुस्तकालय बनाउने र नजिकको नेपाली विषयको विभागसंग सहकार्य गर्ने, पाणिनिसंग खोज गर्नेलाई छात्रवृत्ति दिने, सृजनाको थलो भएकोले लेखक, अनुसन्धानकर्तालाई आवासीय व्यवस्था गरी सृजना गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा पाणिनि विकास परिषद गठन गर्नुपर्ने, तपोभूमि केन्द्रीत वेभसाइट तयार गर्नुपर्नेलगायतका विषयमा विष्णु भूसाल, जनार्दन न्यौपाने, रामप्रसाद घिमिरे, बलबहादुर आचार्य, धनिश्वर पोखर्रेल, कृष्ण पौडेल, पुनाराम पोख्रेल, अच्यूत गौतम, रामप्रसाद पोख्रेल, ऋषि आजाद, विष्णु पोख्रेल लगायतले सुझाव दिएको पालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले बताए।

प्रकाशित मिति : २० माघ २०८१ आइतबार ००:००  ८ : ३५ बजे