२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

स्टेवार्डको अगुवाइमा बाढीपीडितका लागि संकलित १ करोड सरकारलाई हस्तान्तरण


२४ भदौ २०८३ बुधबार ००:००  

16
Shares

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाल्डो डाइनास्टी, इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोले संयुक्त रूपमा १ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।

बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री सहयोग गरिएको हो। संस्थाका अध्यक्ष स्टेवार्ड चेओङ र लियाङ तथा नेपाल–चीन सम्बन्ध विज्ञ दिनेश खनालको समन्वयमा उक्त सहयोग जुटाइएको जनाइएको छ।

प्राप्त सहयोगको चेक नेपालका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले अर्थमन्त्रीको प्रतिनिधिका रूपमा ग्रहण गरेका छन्। सहयोगस्वरूप प्राप्त नगद रकम तथा राहत सामग्री भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता बढिरहेको अवस्थामा प्राप्त सहयोगले राहत कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रवर्धनमा सक्रिय स्टेवार्डको पहल

बुद्ध जन्मस्थल लुम्बिनी तथा यससँग सम्बन्धित बौद्धस्थलहरूको प्रवर्धन र प्रचारप्रसारमा लामो समयदेखि सक्रिय इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोका अध्यक्ष स्टेवार्ड चेओङ लियाङले नेपाल र नेपालीको बृहत्तर हितमा विभिन्न सामाजिक तथा मानवीय अभियानमा समेत सहकार्य गर्दै आएका छन्।

नेपालमा विपत्ति आइपरेका बेला सहयोग गर्नुपर्ने आवश्यकता महसुस गर्दै उनकै पहलमा बाढीपीडितका लागि उक्त सहयोग जुटाइएको बताइएको छ। नेपालमा आएको विपत्तिमा मानवीय सहयोग गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाइएको छ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीका अनुसार स्टेवार्डले कपिलवस्तुको जगदीशपुर क्षेत्रमा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण तथा स्थापना गर्ने अभियानमा समेत स्थानीय, प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय गर्दै आएका छन्।

पन्थीका अनुसार बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तु क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय प्रवर्धनमा स्टेवार्डको सक्रियता महत्वपूर्ण रहँदै आएको छ। नेपालसँगको उनको लामो समयदेखिको सम्बन्ध तथा सामाजिक र मानवीय क्षेत्रमा देखाएको चासोका कारण विपद्को समयमा पनि सहयोग जुटाउन सहज भएको बताइएको छ।

विपद्मा अन्तर्राष्ट्रिय मानवीय ऐक्यबद्धता

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा विदेशी तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग सम्बन्धित संस्थाबाट प्राप्त यो सहयोगले विपद्को समयमा मानवीय सेवाको भावना भूगोल र सीमाभन्दा माथि हुने सन्देश दिएको छ।

संकटमा परेका नागरिकलाई सहयोग गर्नु साझा मानवीय दायित्व भएकाले यस्ता सहकार्यले राहत तथा पुनःस्थापनाका अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

बाढीपीडितको पीडामा साथ दिँदै उपलब्ध गराइएको १ करोड रुपैयाँ बराबरको सहयोग आर्थिक सहायता मात्र नभई विपद्को समयमा देखाइएको अन्तर्राष्ट्रिय मानवीय ऐक्यबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। तत्काल आवश्यक खाद्यान्न तथा राहत सामग्री उपलब्ध हुनाले प्रभावित परिवारलाई केही राहत पुग्ने र पुनःस्थापनाको अभियानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २४ भदौ २०८३ बुधबार ००:००  ११ : ०३ बजे