२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

बालकको ज्यान जाने गरी दुर्घटना गराएर फरार चालक हवाई फायरपछि पक्राउ



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार २०८३ असोज २८ गते अपराह्न ४ः३५ बजे मायादेवी गाउँपालिका–१ पिचुर्खी चोकमा बाटोमा खेलिरहेका चार वर्षीय उसेद खानलाई नम्बर नखुलेको होन्डा युनिकर्न मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकको मृत्यु भएको थियो।

दुर्घटनापछि चालक फरार रहेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगेर स्थानीयसँग सोधपुछ तथा सीसीटीभी फुटेजको विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो।

खोजतलासका क्रममा असोज २९ गते बिहान १ः४५ बजे शुद्धोधन गाउँपालिका–६ कर्मास्थित ड्यामसाइड नजिक लुकाएर राखिएको १५० सीसीको होन्डा युनिकर्न मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकलको अगाडिको भाइजर फुटेको अवस्थामा थियो। उक्त मोटरसाइकलको नम्बर एमएच ४७ जेड ४९४१ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल चालक मायादेवी गाउँपालिका–१ बर्रोहियाका २० वर्षीय रियाज अहमद मुसलमानलाई नियन्त्रणमा लिन खोज्दा उनी खेतमा हामफालेर भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३ बिहिबार ००:००  ८ : ०४ बजे