डिलाराम भुसाल, कपिलवस्तु ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अमर प्रहरीको त्याग र बलिदानको स्मरण, प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीको सम्मान तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित ७१औँ प्रहरी दिवस भव्य रूपमा मनाएको छ।
प्रहरी दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, प्रहरीलाई सामाजिक रूपमा सहयोग पुर्याउने विभिन्न संघसंस्था, बुद्धिजीवी तथा समाजसेवीलाई सम्मान गर्नुका साथै जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सीमित स्रोतसाधनका बाबजुद पनि प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै उहाँले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुमधुर र विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष एवं जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्नु प्रहरीको प्रमुख दायित्व रहेको बताउनुभयो। प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई कायम राख्दै नागरिकमैत्री सेवा, अनुशासन र व्यावसायिकतालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो।
भट्टले अमर प्रहरीको त्याग र बलिदानले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनीहरूको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो। जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा सहयोग पुर्याउने नागरिक, संघसंस्था र सम्पूर्ण सरोकारवालाप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, प्रमुख सेनानी प्रल्हाद थापा, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, जिल्ला न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डे, प्रमुख लेखा नियन्त्रक खगेन्द्रप्रसाद अर्याल, अनुसन्धान अधिकृत हिरण्डबहादुर कुँवर तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, अमर प्रहरीका परिवार तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक रेपिन्द्रकुमार सिंहले स्वागत मन्तव्य राख्दै प्रहरी दिवसको महत्त्व र समाजमा प्रहरी संगठनले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। प्रहरी निरीक्षक दीपक कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रहरी र नागरिकबीचको सहकार्य, सामाजिक उत्तरदायित्व तथा शान्ति सुरक्षा कायम गर्न सबै पक्षको भूमिकालाई महत्त्वका साथ प्रस्तुत गरिएको थियो।
विसं २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२ लागू भएको ऐतिहासिक दिनको सम्झनामा नेपाल प्रहरीले प्रत्येक वर्ष असोज मसान्तमा विभिन्न कार्यक्रम आयोजना गरी प्रहरी दिवस मनाउँदै आएको छ। प्रहरी दिवसले कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति सम्मान व्यक्त गर्नुका साथै नागरिकको सुरक्षा, सेवा र न्यायका लागि प्रहरी संगठनले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई पुनः स्मरण गराउने अवसर प्रदान गर्दै आएको छ।











प्रतिक्रिया