एजेन्सी ।
२१ वर्ष बिताएर अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी बार्सिलोनाबाट बिदा भएका छन् । बार्सिलोनाले विज्ञप्ति जारी गरी आर्थिक तथा अन्य नियमका कारण नयाँ सिजनका लागि मेसीसँग सम्झौता गर्न नसकिएको जानकारी बिहीबार गराएको थियो ।
बार्सिलोनाबाट मेसी बाहिरिएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने चासो सबैको छ । मेसी अब फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जान सक्ने सम्भावना रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अड्कल काटिरहेका छन् ।
आइतबार क्याम्प नाउमा बार्सिलोनाले मेसीको बिदाइ कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा मेसीलाई पीएसजी जाने विषयबारे प्रश्न सोधिएको थियो ।
बिदाइ कार्यक्रममा मेसीले जवाफ दिँदै अहिले कुनै क्लबमा जाने विषयमा कुराकानी नभएको बताएका थिए । ‘पीएसजी एउटा सम्भावित क्लब हो । तर, अहिले नै पीएसजीसँग सम्झौता भएको छैन,’ उनले भने । मेसीले आफूमाथि अहिले धेरै क्लबले चासो राखेको पनि बताए ।
कोपा अमेरिकाको उपाधि उचालेवछि छुट्टी मनाइरहेका मेसीले केही समयअघि पीएसजीका खेलाडी नेइमार, मार्को भेराट्टी, डि मारियालगायतसँग भेट गरेका थिए । उक्त भेटले पनि मेसी पीएसजी जान लागेको धेरैले अड्कल काटेका थिए । उक्त भेटको विषयमा पनि मेसीले प्रस्ट पारेका छन् ।
उनले भनेका छन्, ‘त्यो एउटा संयोग थियो । मेरा नजिकका मित्रहरू र म घुम्न पुगेको ठाउँ एउटै भएकाले भेट भएको हो । क्लबको विषयमा छलफल गर्न हामीले भेटेका हैनौँ ।’
जुनसुकै क्लबमा पुगेर बार्सिलोनाविरुद्ध मैदान उत्रिनु परे आफू अहिलेजस्तै खेल खेल्ने बताउँछन् । ‘मेरो खेलको रणनीति परिवर्तन हुनेछैन । म जहाँ पुग्छ, जितकै लागि खेल्नेछुु, मेसीले भने ।
आफूमा अर्को च्याम्पियन्स लिग जित्ने रहर भएको बताउँदै मेसीले आफ्नो करिअरमा पश्चताप नभएको सुनाए । उनले भने, ‘मैले सधैँ मेरोतर्फबाट राम्रो खेले । बार्सिलोनाका लागि अरु पनि ट्रफी जित्न सकिन्थ्यो । तर, म राम्रो सम्मान र रकमसहित बिदा हुँदैछु ।’
बार्सिलोनाको जर्सीमा ७७८ खेलेका मेसीले ६७२ गोल गर्न सफल भए । मेसीको अर्को गन्तव्य पीएसजी हुन्छ वा अन्य कुनै क्लब त्यसका लागि केही दिन कुर्नु पर्नेछ ।







प्रतिक्रिया