मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोनाको खास अवस्था पहिचान गर्नको लागि शिक्षकलाई परिचालन गरिएको छ । शिक्षक समाजका अगुवा भएका र उनीहरुले भनेका कुरा समाजले ग्रहण गर्ने भएकाले समुदायस्तरमा कोभिड-१९ को प्रभाव वच्न अपनाउनु पर्ने सावधानी, खोपको पूर्व तयारीका लागि नगरका सबै शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुलाई सोमबारबाट समुदाय स्तरमा परिचालन गरिएको हो । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सोमबार विहान भएको एक कार्यक्रममा प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले ब्यानर पढेर अभियानको थालनी गर्नु भएको थियो । अभियान भदौ १८ गतेसम्म चल्ने छ ।
यसैबीच अभियानको शुभारम्भको अवसरमा बोल्ने वक्ताहरुले नगरपालिकाको कामको मुक्तकण्ठले प्रसंशा गर्दै अवस्था विश्लेषण गरी विद्यालय संचालनको वातावरण बनाउनु पर्ने बताएका छन् । प्रमुख अतिथि पाण्डेले जिल्लामै अभियान पहिलो भएकाले अरु पालिकाले पनि यस खालको अभ्यास सिको गरेमा कोरोनामा ठुलो उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।
नेपाल सरकारले विद्यालय संचालनका सम्बन्धमा अझै निर्णय नगरेकाले समुदायको अवस्था पहिचान गरेपछि बाणगंगाको हकमा केही नयाँ निर्णय गर्न सकिने बताउनु भयो । कोरोनाको कारण देशभरका लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा रहेको थाहा हुँदाहुँदै पनि नेपाल सरकारको निर्णयलाई मान्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
कतिपय विद्यालयका संचालक तथा प्रअहरुले सिडिओको कारण विद्यालय अनिर्णयको बन्दी भएको भन्ने आरोप लागेको सुन्नमा आएकाले त्यस्तो नभएको उहाँले प्रष्ट्याउनु भयो । आफू पनि विद्यार्थीको भविष्यप्रति चिन्तित रहेको बताउँदै उहाँले तत्कालै पूर्ण रुपमा विद्यालय खोल्ने स्थिति नभएको दोहोर्याउनु भयो । पछिल्लो समय राज्यले लुज डाउनको नीति पनि अवलम्बन गरेको भन्दै समुदायमा कोरोनाको स्थिति अनुसार केही नयाँ निर्णय लिन सकिने बताउनु भयो । त्यो निर्णय भनेको विद्यालयलाई सिकाइ केन्द्रको रुपमा संचालन गर्नु हो पाण्डेले भन्नुभयो । यद्यपी कोरोनाको तेश्रो संक्रमण डेल्टा भेरियन्टको जोखिममा बालबालिका रहेकाले सबै संवेदनशील रहनु पर्ने बताउनु भयो । विद्यालय खुले पनि सिकाई केन्द्रको रुपमा मात्रै खोलिनेतर्फ बुझ्न सरोकारवाला सबैलाई उहाँको आग्रह छ । विद्यालयहरुमै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा प्रशासनलाई निर्णय लिन पनि समस्या भएको प्रजिअ पाण्डेले सुनाउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दान बहादुर कार्कीले स्वास्थ्य मापदण्ड पालनामा समाजका अगुवा नै फेल भएकाले समस्या उत्पन्न भएको बताउनु भयो । विद्यालय संचालन गर्ने कुरा राम्रो भए पनि विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नभएमा समस्या र जोखिम निम्तनेमा सबै सचेत हुनुपर्ने कार्कीको भनाई छ । बाणगंगा नगरमा शिक्षकहरु समुदायमा परिचालन भएर कोरोनाको अवस्था पहिल्याउने, स्वास्थ्य मापदण्डको पालनाको सम्बन्धमा सचेतना दिने काम राम्रो भएको उहाँले बताउनु भयो ।
नगरप्रमुख मंगल प्रसाद थारु र उपमेयर चक्रपाणी अर्यालले हरेक निर्णयमा नगर अगाडी रहेको भन्दै कोरोना सचेतना अभियानमा शिक्षक परिचालन गर्ने कार्य पनि सबैले भन्दा अगाडी गरेको बताउनु भयो । यो अभियानपछि कोरोनाबारे नगरको खास अवस्था थाहा हुने, जाँचमा सहज हुने, एन्टिजेन जाँचको दायरा बढ्ने र सचेतना बढ्ने उहाँहरुले बताउनु भयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराईले ७२ विद्यालयका ७०० शिक्षक समुदायमा परिचालन हुँदा २५ हजार विद्यार्थी र उत्तिकै संख्यामा अभिभावक लाभान्वित हुने बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले तेश्रो भेरियन्टले बालबालिकालाई आक्रमण गर्न सक्ने भएकाले विद्यालय खुलाउँदा ध्यान दिनु पर्ने बताउनु भयो । यद्यपी कोरोनाको अवस्था पहिचान गर्न नगरले मुलुकमै पहिलोपटक यस्तो जागरण गरेकोमा बधाई र शुभकामना दिनुभयो । कोरोनाबाट बच्ने सबैभन्दा उपयुक्त उपाय मास्क लगाउने बानी रहेकाले सही ढंगबाट मास्क लगाउने शिक्षा समुदायमा शिक्षकले छर्नु पर्ने उहाँको भनाई छ । खोप र एन्टिजेन जिल्लामा कहिँकतै अभाव नभएको उहाँले बताउनु भयो । शिक्षकले समुदायमा गएर एउटा कोभिड फारम भर्ने छन् र त्यो फारम नगरले जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिने छ । त्यसपछि जिल्ला प्रशासनले अनुमोदन गरेपछि विद्यालय शिक्षक सिकाई केन्द्रको रुपमा खुल्ने छन् । सम्भवतह अबको एक सातापछि विद्यालय खुल्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, नगरका सामुदायिक विद्यालयको तर्फबाट विष्णु भण्डारी र संस्थागत विद्यालयबाट बासुदेव घिमिरेले बोल्दै अब विद्यालय यस्तै गरी ताल्चा लगाएर बस्ने हो भने मुलुककै भविष्य अन्धकार हुने बताउनु भयो । उहाँहरुले यो अभियानपछि शिक्षण सिकाई केन्द्रको रुपमा विद्यालय संचालन गर्नुको विकल्प नभएको बताउनु भयो । कार्यक्रममा नगरभरीका सबै विद्यालयका प्रधानाध्यापक राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख पत्रकार लगायतको सहभागिता थियो । उपस्थित अन्य शिक्षकले पनि सिकाइ केन्द्रको रुपमा विद्यालय संचालन नभए अब शिक्षा क्षेत्रमा राज्यले ठुलो क्षति ब्यहोर्नु पर्ने बताएका थिए । परिचालन अघि नगरले दुई चरणको कार्यक्रम गरेको थियो । विद्यालय संचालन गर्ने वातावरण कसरी बनाउने भन्नेबारे छलफल र त्यसैमा टेकेर प्रअहरुलाई अभिमुखीकरण गरेपछि अभियान सुरु भएको हो ।







प्रतिक्रिया