७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सेयर बजारमा ५० अंकको पहिरो, सबै समूह राताम्मे




काठमाण्डौँ ।

बिहीबार सेयर बजारमा ५० अंकको पहिरो गएको छ। ५० अंकले घटेर बजारको परिसूचक नेप्से २९२६ अंकमा कायम भएको छ।

२०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ। भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ।

अर्कोतर्फ कारोबार रकम पनि बढ्न सकेको छैन। यस दिन ९ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ १६, विकास बैंक १८६, फाइनान्स ११३, होटल तथा पर्यटन ११, जलविद्युत ११६, लगानी ३, जीवन बीमा ३५९, उत्पादन १३१, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा २३५, अन्य ३६ र ब्यापार समूह ३८ अंकले घटेका छन्।

बिहीबार सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। यी दुबै कम्पनी हालै सूचीकृत कम्पनी हुन्। आजको कारोबारपछि मनकामनाको मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ र सानिमा लाइफको ३३९ रुपैयाँ ९० पैसा पुगेको छ।

चन्द्रागिरि हिल्स र खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६।८ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेलीको मूल्य ६ प्रतिशत बढीले घट्यो।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भयो भने अपि पावरको ३२ करोड ९९ लाख रुपैयाँको कारोबार भयो।

ङादी ग्रुप पावर, युनाइटेड मोदी, हिमालयन डिस्टिलरी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

प्रकाशित मिति : १७ भदौ २०७८ बिहिबार ००:००  ३ : ४९ बजे