२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा सम्मेलनबारे छलफल



काठमाडौं ।
नेकपा माओवादी केन्द्र को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पार्टीको बैठकमा पार्टीको सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनबारे छलफल भएको हो।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीबारे विभिन्न कुरा उठे पनि निस्कर्षमा नपुगिएको बताए। ‘आजदेखि स्थायी कमिटीको बैठक शुरु भयो। बैठकमा आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ,’ उनले भने‚ ‘विषय निस्कर्षमा पुगेको छैन। भोलि बिहान ८ बजे बैठक बस्छ। एजेण्डा प्रवेश भएको छ। भोलि मात्रै निर्णय हुन्छ।’

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार बिहान ८ बस्नेछ। मंगलवारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरुको निर्णय गरिने प्रवक्ता महराले बताए।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  २ : ४६ बजे