२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अनिश्चितजस्तै बनेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने



काठमाडौं ।
लामो समयदेखि अनिश्चितजस्तै बनेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ। कोरोना भाइरस संक्रमण केही नियन्त्रणमा आएसँगै कोरिया सरकारले कामदार लैजाने प्रक्रिया अगाडि बढाएको हो।

वैदेशिक रोजगार विभागले कात्तिक १० देखि कमिटेड नेपाली कामदार कोरिया जान पाउने जनाएको छ। कोरियाबाट सन् २०१९ मा फर्किएका ११९ जनालाई पहिलो प्राथमिकता दिइने इपिएस शाखा प्रमुख सुरेश राउतले जानकारी दिए। सोही वर्षको अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल आएकाहरू फर्किन पाउने राउतले बताए।

पहिलो उडानमा ५० जना कामदार जाने छन्। दोस्रो उडानमा ६९ जना जानेछन्। इपिएस शाखाले कमिटेड कामदारलाई एक साताभित्र शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। कमिटेड भिसा बाहकले आवश्यक कागजातसहित इपिएस शाखामा सम्पर्क गर्न पनि भनेको छ।

कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक लिएर आएकाहरु नेपाली कोरिया जान पाउने विभागले जनाएको छ। कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशनअनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने भएका छन्।

कोरोना संक्रमण फैलिएसँगै अन्य देशका नागरिकलाई कोरिया प्रवेश गर्न रोक लगाएको थियो। यसअघि क्वारेन्टाइन, खोपको सर्त अगाडि सारेको थियो। हाल कोरोना भाइरस बिरुद्धको खोप बनाएकाहरुलाई प्रवेश गर्न दिइने भएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८ मंगलबार ००:००  १२ : २७ बजे