६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

भारतमा एकैदिन १० हजारमा संक्रमण पुष्टि



एजेन्सी ।

भारतका कोरोना भाइरसबाट पछिल्लो एकदिनमा थप १० हजार ३०२ जना संक्रमित भएका छन्। सोही अवधिमा अरू २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन्। मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ संक्रमित भएका हुन्।

त्यसैगरी, केरलामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ। भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ। यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए। अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ।

भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख २४ हजार ८६८ रहेको छ। यो संख्या कुल संक्रमित भएका मध्ये ०.३६ प्रतिशत मात्रै हो। सक्रिय संक्रमितको संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना संक्रमणमुक्त भएका छन्। यसरी एकै समयमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या कम हुँदै गएको हो।

भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या तीन करोड ३९ लाख नौ हजार ७०८ रहेको मन्त्रालयले जनाएको छ। यो संख्या कुल संक्रमितमध्येको ९८.२९ प्रतिशत हो। यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  २ : १० बजे