२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

ओलीको बोलीः प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन




काठमाडौं । नेकपा (एमालेंका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनले मात्रै न्यायालयको समस्या समाधान नहुने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा​लाई महाअभियोगका लागि सहयोग गर्न बालकोट पुगेका नेपाल बार एशोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीसँग ओलीले न्यायालयको सुधारका लागि भने आफू प्रतिवद्ध रहेको बताए।

‘चोलेन्द्र शम्शेर जबराले राजीनामा दिँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन, जहाँ सुरु हुन्छ त्यहिँ अन्त्य हुन्छु, ओलीले भने, ‘यदि साँच्चै न्यायालय सुधार गर्ने हो भने यसलाई अलि पूर्णता दिनुस् त्यसतर्फ हाम्रो साथ हुन्छ। तपाईंहरुले उठाएको विषय २० प्रतिशत भयो यसलाई शतप्रतिशत बनाएर अघि बढौं।’

उनले आफूलाई प्रधानमन्त्री बनाइदिएर गुन लगाइदिएकोले शेरबहादुर देउवा नै प्रधानन्यायाधीश हटाउने पक्षमा नरहेको बताए।

‘तपाईहरु गिभ एण्ड टेकको कुरा गर्नुहुन्छ, प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको प्रसङ्ग उठाउँदै ओलीले भने, जसले बनाएको हो उसैले हाम्रो कार्यकर्ता हो भनिरहेका छन्, गठबन्धनका नेताहरुले पनि लेनदेन होइन भनिरहेका छन्। उहाँहरु कसरी महाअभियोग लगाउनुहुन्छ ?

ओलीले संसद पुनर्स्थापनामा परमादेश जारी गर्ने सबै न्यायाधीशले पद छाड्नुपर्ने संकेत गरे। उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भने, ‘यहाँहरूले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि?’

ओलीलाई भेट्न बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित वरिष्ठ अधिवक्ताहरू बालकोट पुगेका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७८ मंगलबार ००:००  ४ : १७ बजे