१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अब विद्यार्थीले पनि खोप कार्ड बोक्नुपर्ने ।



काठमाण्डौ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ।

पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

१८ वर्षभन्दा माथिका विद्यार्थी र शिक्षक तथा कर्मचारीहरूले पनि खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

साथै विद्यार्थीलगायतले अब शैक्षिक संस्थामा जाँदा खोप कार्ड बोक्नुपर्ने भएको छ।

‘माघ ७ देखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोप कार्ड अनिवार्य रूपमा साथमा राख्ने प्रवन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउने’ मन्त्रालयले आज जारी गरेको सूचनाको ५ नम्बरमा उल्लेख छ।

अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस वा वार्षिक उत्सवजस्ता सार्वजनिक कार्यक्रम नगर्न पनि विद्यालयलाई मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  ४ : ५४ बजे