२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सार्ने तयारी



काठमाडौं ।

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले थाहाखबरलाई जानकारी दिए।

मधेश प्रदेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन कांग्रेसले आगामी माघ १५ गतेका लागि तय गरेको थियो। निर्वाचन सार्ने आधिकारिक निर्णय नगरिए पनि कोरोना संक्रमणलाई मध्यनजर गरी निर्वाचन सार्ने विषयमा छलफल भइरहेको घिमिरेले बताए।

उनले ‘कोरोना महामारीका बेला सरकारको नेतृत्व गरिरहेको पार्टीले चुनावमा जानुस् भन्न आँट भएन’, उनले थपे ‘ त्यसैले हामी छलफलमै छौं, निर्णय गर्न बाँकी छ।’

निर्वाचन समितिको बैठक केही दिनभित्रैमा बसेर अधिवेशन सार्ने निर्णय गरिने बताइएको छ। कांग्रेसको चौधौं महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, चितवन, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

प्रकाशित मिति : ५ माघ २०७८ बुधबार ००:००  २ : ३५ बजे