७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भिरबाट लडेर वडा अध्यक्षको मृत्यु, सोमबार शोक बिदा



चितवन।

देवघाट गाउँपालिका(३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए।

वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएकाले उनको त्यसदिन बेलुका खोजी नभएको परिवारले बताएको छ ।

तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका हुन् । गाउँलेहरूले वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका थिए । घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए ।

नेपाली कांग्रेस देवघाट गाउँपालिका–३ वडा समितिको पूर्व सभापतिसमेत रहेका वडाध्यक्ष आले सरल र शान्त स्वभावका व्यक्ति थिए । विकास प्रेमी वडाध्यक्ष कृतिमान आलेको निधनले पार्टीले ठूलो क्षति व्यहोर्नु परेको नेपाली कांग्रेस देवघाट–३ वडा समिति सभापति गंगा विकले बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  १२ : ५३ बजे