प्युठान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्युठानमा आधार इलाकाक रूपमा लिइएको माण्डवी गाउँपालिकाबाट निर्वाचनमा होमिने संकेत दिएको छ। जिल्लामा छलफल जारी रहेको बताउने पार्टीले पालिकामा भने माओवादी केन्द्रसहितको गठबन्धनमा मिलेर जाने गरी सहमति गरेको हो।
माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेर जाने बुँदामा नेकपाका नेता तथा माण्डवी गाउँपालिका इन्चार्ज बलबहादुर खत्रीले शुक्रबार हस्ताक्षर गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने र सत्ताधारी गठबन्धनसँगै तालमेल गरी जान नेकपा सकारात्मक देखिएको छ।
पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा गठबन्धन गरी लड्नेमा आफूहरू सकारात्मक रहेको नेकपाका जिल्ला सेक्रेटरी दिलबहादुर घर्ति (अजय)ले बताए। स्थानीय तहको पहिलो निर्वाचन बिथोल्ने प्रयास गरेको नेकपाले यो निर्वाचनमा आफ्ना शुभेच्छुकहरू चुनावमा उठे सहयोग गर्ने निर्णय केही दिनअघि केन्द्रीय बैठकबाट गरेको थियो।







प्रतिक्रिया