५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालनको तयारी



तौलिहवा ।
आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेवी र शुद्धोधन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।

यस अघि कपिलवस्तुको कृष्णनगर, शिवराज महाराजगंज नगरपालिका र विजयनगर र यशोधरा गाउँपालिका अभियान सम्पन्न भएको छ । पहिलो अभियानमा ९० प्रतिशत बढीले हैजाविरुद्ध ओरल कलेरा भ्यानसिनको सेवन गरेको स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख हेमराज पाण्डेयले जानकारी दिए।

खोप एक वर्ष माथिका सम्पूर्ण गर्भवती, सुत्केरी लगायत सबैले खान मिल्ने उनले बताए। अभियानमा साढे ३ लाखलाई खोप खुवाउने लक्ष्य छ। खोप लिएको १४ दिन पछि दोश्रो डोजको खोप लगाईने छ। पहिलो र दोस्रो चरणको खोप सेवन गरे पछि पाँच वर्षसम्म हैजा तथा झाडापखाला लाग्नबाट बच्न सकिने उनले बताए। पहिलो र दोस्रो चरणको खोप अभियान असारको ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ।

अभियानमा साढे ३ सय स्वास्थ्यकर्मी, ६ सय महिला स्वयसेविका र प्रत्येक विद्यालयका एक शिक्षक स्वमसेवकका रुपमा खेटिनेछन्। खोपको सूरुवात विद्यालयका विद्यार्थीबाट सुरु गरिने छ। यस्तै गाउँ टोलमा चोक चोकमा स्वास्थ्यकर्मी पुग्नेछ त्यहीबाट हैजाको खोप खुवाउने कार्यक्रम छ।

सोनाफी हेल्थ केयर प्रालि भारतबाट उत्पादित सो खोप प्रति व्यक्ति ढेड एमएलका दरले खुवाइने छ। एक वर्षमुनी सिकिस्त बिरामी, र हैजा लागेका व्यक्तिलाई भने खोप खुवाउन हुँदैन। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पूर्णतया सुरक्षित भनेका छन्। जिल्ला खुला दिशामुक्त भइसके पनि अझै पनि धेरै मान्छेहरुले खुला ठाउँमा शौच गर्ने गरेको स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए।

उनले यो कुरालाई सबैले र विशेषतः नव निर्वाचित जन प्रतिनिधिहरुले मनन गरी कार्ययोजना बनाउनु पर्ने उनले बताए। एक वर्ष पलिहे कृष्णनगरको बहादुरगंजमा हैजा फैलिएर ४ जनाको मृत्यु समेत भएको थियो। त्यसको केही महिना पछि कपिलवस्तुको ५ पालिकामा अभियान सञ्चालन गरिएको थियो। अहिले बाँकी रहेका ५ पालिकामा अभियान सञ्चालन गरिदै छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९ शनिबार ००:००  ८ : १४ बजे