कपिलवस्तु।
कपिलवस्तुका दश वटै स्थानीय तहमा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा १० वटै पालिकाका पोषण सहजकर्ताले पोषण क्षेत्रमा भएका गतिविधि तथा प्रगति विवरण प्रस्तुत गरेका थिए।
सहजकर्ताहरूले बजेट तथा स्रोत–साधनको सीमितताका कारण अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकिए पनि सुनौलो हजार दिनका आमा तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका थिए।
समीक्षाका क्रममा कालिका स्वालम्बन सामाजिक विकास संस्था, आरएनएन तथा किड्स नेपालले पनि पोषण सुधारका लागि गरेका गतिविधि र उपलब्धिबारे जानकारी गराएका थिए। प्रस्तुत प्रतिवेदन तथा तथ्यांकअनुसार जिल्लामा पोषणको अवस्था अझै सन्तोषजनक बन्न नसकेको निष्कर्ष निकालिएको छ। पोषण सुधारका लागि स्थानीय तह, सरकारी निकाय तथा गैरसरकारी संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जनचेतनाको कमी र आर्थिक समस्याका कारण जिल्लामा पोषणको अवस्था अपेक्षित रूपमा सुधार हुन नसकेको बताउनुभयो। उहाँले समुदायस्तरमा करेसाबारी प्रवर्द्धन, पोषणयुक्त खाद्यवस्तुको प्रयोग तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
निमित्त प्रमुख जिल्ला अधिकारी भविस्वर घिमिरे, कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरी तथा गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेलगायत वक्ताहरूले पोषण सुधारका कार्यक्रम सञ्चालन गर्दा दोहोरोपन (डुप्लिकेसन) नहुने गरी स्थानीय तह र विभिन्न संघसंस्थाबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका जनार्दन अधिकारीले गर्नुभएको थियो। समीक्षा कार्यक्रमले जिल्लाको पोषण अवस्था सुधारका लागि सबै सरोकारवाला निकायबीच सहकार्य र साझा प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया