२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मनसुन चाँडै भित्रिए पनि आत्तिनु पर्ने अवस्था छैन : मौसम विभाग



काठमाण्डौ ।

नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्ष समयभन्दा लगभग एक हप्ता अगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपमले लिन नमिल्ने बताउनु भयो । उहाँले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताउनु भयो । उहाँले बङ्गालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आइतवारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताउनु भयो । गएको वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।

उहाँले भन्नुभयो, ‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ नै । त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’

विभागले आउँदो तीन दिन प्रदेश(१ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङ्गको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै नदी तथा खोलामा बाढी आउनसक्ने बताउनु भयो । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । गएको वर्ष पनि सरदरभन्दा बढी वर्षा भएको थियो । जसका कारण पनि मानिसहरु त्रसित भएका छन् । तर विभागले भने सतर्कता अपनाउन र त्रसित नहुन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  २ : ०६ बजे