७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निहारिकाले तोडिन् अनशन



काठमाडौँ ।

महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले २७ दिने अनशन तोडेकी छन्। सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन्।

विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका ३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ। उनी आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बसेकी हुन्।

जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइ दिने फैसला सुनाएको थियो। सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ८ : ४७ बजे