कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षीय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको हो । मिटर रिडरका रुपमा ज्यालादारी रुपमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रमा कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताउनुभयो।
मिटर रिडर पाण्डेयले मिटर ठाउँसारी गर्न बिद्युतको पोलमा लाईन जोडनेक्रममा उनलाई करेन्ट लागे पछि सिढिबाट तल खसेका थिए।
पाण्डेयलाई करेन्ट लागेर घाइते भएको देखे पछि उनीसंगै गएका अर्का मिटर रिडर बिष्णु रैदसा अचेत भएका थिए। घाइते पाण्डेयलाई उपचारका लागि कपिलवस्तु अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको थियो। अस्पतालमा पुर्याइएका पाण्डेयलाई डाक्टरले मृत घोषित गरेका थिए।
पाण्डेयको शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल राखिएको छ। घटनाको अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।







प्रतिक्रिया