२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छः शेखर कोइराला



काठमाण्डौ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र पालिका चुनावमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनु भयो । नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो ।

‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ उहाँले भन्नुभयो, गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई हामी नै सबै कुरा हो भन्ने पनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली कांग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण सबैलाई समेटेर हिँडौं र नेपाली कांग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हामीहरुको सोच हो ।’

उहाँले नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९ बुधबार ००:००  १ : ५३ बजे