काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने चुनावमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताउनुभएको छ ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका लागि आज सोमवार ललितपुरमा भएको कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो । पार्टीका कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजान इच्छा रहेको देउवाको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी अहिले गठबन्धनमा छौँ । जनताभन्दा ठूला कोही छैनन् । उनीहरूको साथ, समर्थन लिनु आवश्यक छ । सबैलाई मिलाएर लैजान्छु, अन्याय हुन दिन्न । ढुक्क हुनुहोस् ।’
यस्तै उहाँले आउँदो चुनावमा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा रहेको बताउनुभयो ।
देउवाले चुनावमा पार्टीको पक्षमा नागरिकको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्रमा नागरिकभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आउँदो चुनावमा पनि नागरिकको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।







प्रतिक्रिया