७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तिलोत्तमामा भूमिहिन सुकुमबासीहरुको जग्गा नाप जाँचको काम सुरु



बुटवल ।

तिलोत्तमा नगरपालिकामा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित वसोबासीहरुका लागि जग्गा नाप जाँच शुरु भएको छ । भूमि आयोगले तिलोत्तमा नगरपालिकामा वडा नं।११ मा बुधबारदेखि जग्गा नाप जाँचको काम सुरु गरेको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकामा भूमिहिन सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकता दिएर उनीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न जग्गाको नापजाँच सुरु भएको बताउँदै आयोगको काममा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भूमिहिनलाई जग्गाको स्वामित्व प्रदान गरिने र सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले उत्तिकै महत्व दिएको बताए।

उनले वडामा खटिने आयोगका कर्मचारीलाई सहयोग गर्न पनि नगरप्रमुख खाँणले वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे।
त्यस्तै भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आयोगले तिब्र गतिमा काम गर्ने बताउँदै त्यसमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनीधिहरुलाई आग्रह गरे। कार्यक्रममा उपमेयर जागेश्वर देवी चौधारी, वडाध्यक्ष विष्णु बराल क्षेत्री लगायत बोलेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७९ बुधबार ००:००  ४ : १५ बजे