२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा उम्मेदवारको बाढी, ९ क्षेत्रमा १ सय ४६ जना उम्मेदवार



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुबाट आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि १ सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरि उक्त संख्यामा उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लामा प्रतिनिधि सभा १ बाट २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले पूर्वमन्त्री नेकपा (माओवादी केन्द्र) का चक्रपाणी खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले संबिधानसभा सदस्य बलराम अधिकारीलाई उठाएको छ ।

प्रदेश सभा–१ तर्फ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा (एमाले) ले बिष्णु पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ ।
प्रदेश सभा–२ तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले फैजल खानलाई उम्मेदवार बनाएको छ । माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरि काङ्ग्रेसमा आएर टिकट पाउनु भएको हो । यहाँ एमालेले मधुसूदन शरण चौधरीलाई उम्मेदवार उठाएको छ ।

प्रतिनिधि सभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले वृजेश कुमार गुप्तालाई उठाएको छ ।
प्रदेश सभा–१ मा सत्ता गठबन्धनबाट नेपाल प्रहरीका पूर्व (एसएसपी) बिक्रम सिंह थापाले मनोनयन दर्ता गराउनु भएको छ । नेपाली काङ्ग्रेसले थापालाई टिकट दिएको हो । नेकपा (एमाले) बाट नवराज लामिछानेले मनोनयन दर्ता गराउनु भएको छ ।
प्रदेश सभा–२ मा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधि सभा –३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट काङ्ग्रेसका अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराउनुभएको छ । एमालेले मंगल प्रसाद गुप्तालाई उठाएको छ ।

प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का एहसान खान उम्मेदवार बन्नु भएको छ । उहाँको विरुद्धमा गठबन्धन कै एक घटक एकीकृत समाजवादीले जीवलाल पौडेललाई उठाएको छ । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । केसी यहीँ क्षेत्रका निवर्तमान सांसद हुनुहुन्छ ।

प्रदेश सभा–२ मा सत्ता गठबन्धनबाट बिरेन्द्र कानौडियाले मनोनयन दर्ता गराउदा एमालेबाट रजाउर्मान खांले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९ सोमबार ००:००  ७ : २० बजे