मायादेवी अनलाइन, बाणगंगा । वाम लोकतान्त्रिक गठबन्धन वाणगंगा ४ गजेहडामा शुक्रबार प्रचार प्रसार तथा सम्पर्क कार्यालय उद्घाटनको कार्यक्रम थियो । विहान करिब ९ बजेतिर सुरु भएको कार्यक्रममा केही ढिलो गरी आए क्षेत्र नम्बर १ ‘क’ को प्रदेश सभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरे ।
मंचमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल बलदेव, जिल्लाका चुनावी कमाण्डर तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य अतहर कमाल मुसलमान अनि जिल्ला र नगरतहका अरु नेता पनि थिए । कार्यक्रम उद्घाटन पनि भयो ।
धेरै वोल्ने वक्ता नराखिएको कार्यक्रममा बोल्ने पालो आयो प्रदेश सभा उम्मेदवार डोलकराम घिमिरेको । निकै छोटो भाषण गरेका उनले एक ढिक्का भएर गठबन्धनलाई जिताउन नेता कार्यकर्तालार्य आग्रह गरे । जित्ने आधार बलियो भएको भन्दै निरास नहुन अनुरोध गरे ।
यसै क्रममा उनले अन्तिममा भने मेरो छोटो भनाई यही बन्द गर्दछु । जय नेपाल, लालसलाम । अर्को ठाउँ कार्यक्रम तय गरेका उनी भाषण गर्नेवित्तिकै निस्किए ।
घिमिरेले यसो भनिरहँदा मंचमा बसेका अरु नेता मुसुहाँसिरहेका थिए भने अरु नेता कार्यकर्ताले पनि तालीसहित खित्का छोडेर हाँसेका थिए । धेरैले घिमिरेको यो भनाईलाई राम्रो माने ।
कार्यक्रम सकिएपछि घिमिरेले मायादेवीसंग भने यो गठबन्धन हो । शब्दमा केही छैन । हामी एक छौँ भन्ने कुरा बुझाउन मैले आजभोलि यही भन्ने गरेको छु ।







प्रतिक्रिया