७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिन प्रयोगविहीन



घोराही ।
राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा रहेका आठवटा डायलासिस मेसिनहरू विगत सात महिनादेखि प्रयोग विहीन अवस्थामा छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरू आर्थिक अभावसँगै मेसिन राख्ने ठाउँ नहुँदा प्रयोग विहीन भएका हुन्।

लामो समयसम्म डायलासिस मेसिनहरू प्रयोगमा नआउँदा बिरामीले दुःख पाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन महिनामा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलासिस मेसिन’ पठाएको थियो।

सो मेसिन आर्थिक, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण जडान हुन सकेका छैनन्। “मेसिनहरू सञ्चालनमा आउन नसक्नुको प्रमुख कारण आर्थिक पक्ष हो, त्यसका साथै जनशक्ति र भौतिक पनि समस्या छ,” अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. ओम अर्यालले भन्नुभयो।

बिरामीलाई सेवा दिनका लागि मेसिन जडान गर्ने भए पनि आर्थिक अभावका कारण जडान हुन सकेको छैन उहाँले थप्नुभयो, मेसिन जडान गरी सेवा दिनका लागि अहिले कम्तीमा पनि ६० लाख रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। सरकारले मेसिन दिने तर बजेट नदिँदा जडान गरेर सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो। अहिले डायलासिसमा चार नर्सिङ कर्मचारी मात्रै कार्यरत छन्। मेसिन जडानपछि कम्तीमा ११ नर्सिङ कर्मचारी चाहिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०८ बजे