२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आगोलागीमा परि मृत्यु भएका ४ जनाको सामूहिक अन्त्यष्टि



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामूहिक अन्त्यष्टि गरिएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षीय पदम बेल्बासे, ७२ बर्षीय पिताम्बर भुसाल, ५२ बर्षीय घनश्याम बेल्बासे, ३६ बर्षीय माधब बेल्बासेको बिहीबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा सामूहिक रुपमा अन्तिम दाहसंस्कार गरिएको हो।

पदम बेल्बासे, पिताम्बर भुसालको पाल्पाबाट रिफर गरी काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कीर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।

घाईते २५ बर्षीया संगिता बेल्बासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको छ । उपचार गर्न काठमाडौं लैजाने क्रममा मृत्यु भएका २ जना र काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका २ जना गरी ४ जना मृतकलाई बिहीवार बिहान आफ्नो घरमा ल्याईपुराएपछि उनीहरूको सामूहिक अन्त्यष्टि गरिएको हो । मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजारका दरले राहत उपलब्ध गराएको छ ।

यस्तै भूमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आगोलागीमा परि मृत्यु भएका ४ जनाको अन्तिम सामूहिक दाहसंस्कारका लागि बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा १ हजार भन्दा बढी नागरिकको सहभागिता रहेको थियो ।

यति बेला भूमिकास्थान २ ढाकावाङ गाउँ मात्र होईन यस्तो अपत्यारिलो घटना जिल्लाको पहिलो घटना भएकाले सिङ्गो जिल्लानै शोकाकुल भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८० बिहिबार ००:००  ४ : ०१ बजे