७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

केपी ओलीको जिकिरः म पार्टीको मात्र होइन, देशकै नेता हुँ



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर देशकै नेता भएको बताएका छन् ।

नेपाल संवतको नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले देशका लागि ५८ वर्षसम्म लडेको, जेल नेल र यातना सहेको जिकिर गरे ।

‘जसले ५८ वर्ष देशका लागि लडेको छ, अनि म देशको नभएर पार्टीको मात्रै हो र ?’ उनले प्रश्न गरे, ‘म त देशको मान्छे हो, देशका लागि लडेको मान्छे हो, देशका लागि जेल नेल गएको मान्छे हो, देशका लागि यातना सहेको मान्छे हो ।’

बसन्तपुर डबलीमा आयोजित उक्त कार्यक्रममा ओलीअघि बोलेका एक वक्ताले नेता पद्मरत्न तुलाधरको प्रशंसा गर्दै उनी पार्टीको नभएर देशको नेता भएको बताएका थिए । ओलीले आफ्नो पालोमा उक्त भनाइप्रति असहमति जनाउँदै भने, ‘नरेशमानजीले अघि भन्नुभयो, पद्मरत्नजी कुनै पार्टीको नभएर सिँगै देशको हो । अनि म चाहिँ घरको मान्छे ?’

ओलीले माओत्सेतुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु, नरेन्द्र मोदी पनि उनीहरुको पार्टीको मात्र नभई आ-आफ्नो देशकै नेता भएको दाबी गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८० शनिबार ००:००  ७ : १६ बजे